युरो २०२० : आज समूह ‘ए’का अन्तिम खेल

आइतबार, असार ६, २०७८ युरो २०२० अन्तर्गत आज राति समूह ‘ए’ का अन्तिम खेल हुँदैछन्।

रोममा घरेलु टिम इटाली र वेल्स तथा अजरबैजानको बाकुमा स्विट्जरल्यान्ड र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल राति ९:४५ बजे सुरू हुनेछ।

इटाली लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुगिसकेको छ। इटालीले पहिलो खेलमा स्विट्जरल्यान्ड र टर्की दुवैलाई समान ३-० गोलले पराजित गरेको थियो।

वेल्स पनि अपराजित छ। पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई पराजित गरेको थियो।

इटाली अन्तिम १६ मा पुगिसकेको अवस्थामा वेल्सलाई पनि अन्तिम १६ मा पुग्नु पर्ने दबाब छ।

दुई टिमबीच भएका नौ प्रतिस्पर्धामा अहिलेसम्म बराबरी भएको छैन। नौ मध्ये इटालीले सात खेलमा जित हात पारेको छ। सात खेलमा उसले २३ गोल गरेको छ।

यता स्विट्जरल्यान्ड टर्कीविरुद्ध जित हात पार्दै दोस्रो हुने अभियानमा छ।  लगातार दोस्रो खेलमा हार बेहोरेको टर्की भने उत्कृष्ट जित निकालेर समूहमा तेस्रो हुने लक्ष्यमा छ।

दुई टिमबीच भएका १५ प्रतिस्पर्धा मध्ये आठ खेलमा टर्की विजयी भएको छ। चार खेलमा स्विट्जरल्यान्ड विजयी हुँदा ३ खेल बराबरीमा सकिएका छन्।

Comments (0)
Add Comment