‘फ्रन्ट लाइनर’ सधैं आश्वासनमा

भत्ता माग गर्दा दिदैनौं भन्दैनन् तर आशैआशमा कति दिन बस्ने ?

पोखरा । नेपालमा कोरोना महामारी सुरु भएसँगै लकडाउनको २ दिनअघि सरकारले एउटा निर्णय ग¥यो । डेढ वर्षअघि भएको सो निर्णय थियो–कोरोना संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता प्रदान गरिने । २०७६ चैत ११ मा देशभर लकडाउन भयो । मानिस घरभित्रै खुम्चिए । तर फ्रन्टलाइनर जोखिम मोलेरै कोरोना नियन्त्रण, रोकथाम र उपचारमा निसंकोच खटिए । सरकारको निर्णय उनीको काममा बल थपेको थियो । मन्त्रिपरिषद्बाटै पारित भएपछि सरकारले संकटमा गरेको कामको मूल्यांकन गर्न थालेको स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले महसुस गरेका थिए । तर महिनौंसम्म पनि जोखिम भत्ता नपाउँदा उनीहरु अहिले निराश छन् । पहिलो लकडाउन हुँदा नेपालमा जम्मा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित संख्या क्रमिक रुपले बढ्दै गयो । पछि समाजले पनि उनीहरुलाई हेर्ने नजर परिवर्तन हुँदै जान थाल्यो । सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरालाई कोरोना डेडिकेटेट अस्पताल घोषण गरी काम थालेको थियो । अरु अस्पतालका कर्मचारीभन्दा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मी सधैं अलर्ट रहनुपर्ने अवस्था आयो । अस्पतालको छेवैमा आइसोलेसन वार्ड पनि तयार भयो । आइसोलेसनमा काम गर्ने सबै जिम्मेवारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई दिने निर्णय पनि भयो । गण्डकी प्रदेशका ११ जिल्ला र अन्य प्रदेशका कोरोना संक्रमित अस्पतालमा भरिन थाले । स्वास्थ्यकर्मीले आलोपालो काम गर्दै गए । कोरोनाको पहिलो भरियन्ट सकियो । स्थिति सामान्य अवस्थामा फर्किएपछि जोखिम भत्ता पाइएला भनेर आशामा बसे । आशैआशमा केही महिनापछि दोस्रो भेरियन्टसँगै फेरि उपचारमा खटिन भए । पहिलेको तुलनामा दोस्रो लहर भयावह भयो । अस्पतालको इमर्जेन्सीमा कोरोनाका बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता आइपर्‍यो । यतिसम्म जोखिममा दिनरात नभनी खटिएकाले १ महिनाभन्दा बढीको जोखिम भत्ता नपाएको कर्मचारी युनियन संयोजक नारायणप्रसाद बरालले गुनासो गर्दछन् । सुरुमा १ महिनाको भत्ता त पाए तर अस्पतालमा कार्यरत कर्मचारीले जोखिम भत्ता पाएनन् । कोभिडमै संलग्न भएकाले भने जोखिम भत्ता पाएको उनले सुनाए । कोभिडका बिरामीसँगै नजिक भएकाले पाउँदा आफूहरु पनि जोखिमको समयमा खटिएका कारण सरकारले कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने उनको तर्क छ । ‘सुरुको एक महिनाको भत्ता भने दिएकै हो,’ बरालले भने, ‘कसैले एक महिनाको कसैले १५ दिनको मात्र पाएका छन् भने कसैले २०/२२ दिनको मात्र पाए ।’

जोखिम भत्ताका लागि पटकपटक प्रशासनमा ताकेता गरे पनि हालसम्म सुनुवाइ नभएको उनले बताए । अस्पताल निर्देशक प्राडा भरतबहादुर खत्री सरकारबाट आउनुपर्ने जोखिम भत्ता शीर्षकको रकम आउन ढिलाइ भएको स्वीकार्छन् । कोभिडसँग नजिकै रहेर ड्युटी गरेकालाई अस्पतालको आन्तरिक स्रोतबाट जोखिम भत्ता उपलब्ध गराएको खत्रीले जानकारी दिए । ‘सरकारबाट आउने भनिएको जोखिम भत्ता आउनेवाला छ,’ उनले भने, ‘हामीले आन्तरिक स्रोतबाट भए पनि दियौं ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीको पनि जोखिम भत्ता नपाएको गुनासो छ । कोरोनाको तेस्रो लहर सुरु भइसक्दा सरकारले दिने भनेको भत्ता आउन ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले बताइन् । सरकारले जोखिम नहटाउँदासम्म जोखिमपूर्ण क्षेत्रमा काम गरिरहने उनको भनाइ छ । सुरुमा आफू नियुक्ति हुँदा त्यति साह्रो जोखिम नभए पनि कोरोना कहरबीचमा पिसिआर परीक्षणको जिम्मेवारी आफूहरुको काँधमा आएको उनी बताउँछन् । राति १०/१२ बजेसम्म काम गर्नुपर्दा सरकारले दिनेको भनेको जोखिम भत्ताले कामको मूल्यांकन गरेको उनी बताउँछिन् । तर गएको आर्थिक वर्षको असोजसम्म मात्र जोखिम भत्ता पाएको उनले सुनाइन् । बीचमा सरकार परिवर्तन भयो । नयाँ सरकारले गठनपछि छिट्टै पाइएला भन्ने आशमा बसेकोमा साउन बित्न लाग्दासम्म नपाएको उनले बताए । ‘भत्ता माग गर्दा दिदैनौं भन्दैनन् तर आशैआशमा कति दिन बस्ने ?,’ उनको प्रश्न छ ।
सरकार मातहतमै चलेको संक्रामक तथा सरुवा रोग अस्पतालले भने आन्तरिक रुपमै आफ्ना कर्मचारीलाई भत्ता उपलब्ध गराएको अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए । कोरोनाका बिरामी हेर्ने स्वास्थ्यकर्मीको मनोबल नगिरोस् भनी सरकारबाट आउने शोधभर्ना रकमबाट जोखिम भत्ताको रमक व्यवस्थापन गरेको उनको भनाइ छ । सरकारले अस्पतालाई कोरोनाका सामान्य बिरामीका लागि ३ हजार ५ सय, मध्यमका लागि ७ हजार र जटिलका लागि १५ हजार दैनिक रुपमा उपलब्ध गराउँछ । त्यसबाट बिरामीका लागि खाना, खाजा, औषधी, एक्सरे, अक्सिजन लगायत औषधी निशुल्क उपलब्ध गराउनु पर्छ । सरकारले जोखिम भत्ता शीर्षकमै अहिलेसम्म रकम उपलब्ध नगराएको डा. गौचनले जानकारी दिए ।
यता, अग्रपंक्तिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको प्रोत्साहनमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल आफू पदभार ग्रहण गरेकै दिन १ करोड विनियोजन गरेका थिए । तैपनि विनियोजित रकम अहिलेसम्म स्वास्थ्यकर्मीको हातमा पुगेको छैन ।
प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड बिरामीको रेखदेखमा खटिएका स्वास्थ्यकर्मीलाई छिट्टै जोखिम भत्ता उपलब्ध गराउने बताएकी छिन् । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताल निरीक्षणक्रममा उनले सबैसामु सो प्रतिबद्धता व्यक्त गरेकी थिइन् । ‘केन्द्र सरकारले जोखिम भत्ता दिने कुरा गरिरहेकाले हामी रोकिएका हौं, समन्वय पनि गरेका छौैं,’ उनले भनिन्, ‘केन्द्रबाट ढिला भयो भने गण्डकी सरकारले नै जोखिम भत्ता उपलब्ध गराउँछ ।’

Comments (0)
Add Comment