रवि लामिछानेले भारतीय प्रधानमन्त्रीसँग जेठ २० गते भेटवार्ता गर्ने

काठमाडौँ । भारत भ्रमणका लागि सोमबार दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जेठ २० गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतीय जनता पार्टी(भाजपा)ले जनाएको छ।

भेटघाट कहाँ र कति बजे हुने भन्नेबारे अहिलेसम्म तय भइसकेको छैन । तर आगामी बुधबारका लागि प्रधानमन्त्री मोदीको समय खाली राखिएको छ।

गत फागुन २१ गते सम्पन्न चुनावपछि सबैभन्दा ठुलो पार्टी भएर सत्तामा आएको रास्वपाको तर्फबाट यो पहिलो उच्चस्तरीय विदेश भ्रमण हो ।

प्रधानमन्त्री मोदीका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

सभापति लामिछाने भाजपाको निमन्त्रणामा भारत गएका हुन् । उनी भोलि बिहान ११ बजे भाजपाको मुख्यालय जाने छन् । त्यहाँ उनलाई पार्टीको तर्फबाट स्वागत गर्ने कार्यक्रम रहेको छ ।

भाजपाको कार्यालयमा भाजपाका अध्यक्ष नितिन नविनसँग भेटघाट हुनुको साथै पार्टीका अन्य उच्च अधिकारीसँग छलफल हुने बताइएको छ।

भाजपाकै मुख्यालयमा भारतीय विदेश मन्त्री एस.जयशंकर र सभापति लामिछानेबिच पनि भेटवार्ता हुने बताइएको छ ।

सोही दिन भाजपाले सभापति लामिछानेका लागी रात्रीभोजको आयोजना गरेको छ। सो रात्री भोजमा भारतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने बताइएको छ।

भारतमा रहेको अन्तर्राष्ट्रिय नेपाली मञ्चले जेठ २१ अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा दिल्लीमा रहेका नेपालीहरू सहभागी हुने बताइएको छ ।

सभापति लामिछानेले अयोध्यामा रहेको राम मन्दिरको दर्शन गर्ने कार्यक्रम समेत छ।

Comments (0)
Add Comment