टिकटकर तुलसा अधिकारी पक्राउ

आइतबार, १७ जेठ २०८३,

काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने एसपी मिश्रले बताए । इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो ।

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।

तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् ।

Comments (0)
Add Comment