काठमाडौँ । उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथि’ को छायाङ्कन सकिएको छ ।
म्याग्दीका विभिन्न स्थानमा एक महिना छायाङ्कनपछि फिल्म सकिएको हो । निर्देशक कुमार गजुरेलले फिल्मको छायाङ्कन पुर भएको जानकारी दिए । उनका अनुसार केही दृश्य मिलाउन काठमाडौँमा एक दिन छायाङ्कन भने हुनेछ ।
सामाजिक कथावस्तुमा आधारित फिल्मले मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा देखाउनेछ ।
फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय छ ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्य रहेको फिल्ममा निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् ।
धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता, प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म छायाङ्कन संकल्प भुजेलले गरेका हुन् ।