Welcome to the complete news site

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

0 14

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु गर्ने तय भएको थियो ।
मन्त्रालयको सिफारिसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिबार बोलाइएको छ । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो । मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सिसिएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो । त्यही अनुसार सिसिएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार नै बैठक राखेर निर्णय गर्न निर्देशन दिएकोमा परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले शनिबार ११ बजे बैठक राखेका छन् । साउन ३१ देखि तोकिएको परीक्षा स्थगित हुने तर आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ वा भोलिका दिनमा भौतिक रुपमा परीक्षा हुन्छ भन्ने चाहिं अझै टुंगो लागेको छैन । यसबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने मन्त्रालयका एक अधिकारी बताउँछन् । परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थीले फाराम भरेका थिए । यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्यन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसंख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको छलफलमा उनले चुनौतीपूर्ण अवस्था आउनसक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खाँणले भने, ‘अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हँुदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्वतयारीमा रहनुपर्छ ।’ मन्त्री खाँणले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गरेका छन् । ‘भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ,’ गृहमन्त्री खाँणले भने ।