काठमाडौं । गुगल एप स्टोरमा पुनः खतरनाक जोकर भाइरस फर्किएको छ । सन् २०२० मा गुगलले यो भाइरसबाट संक्रमित ४० वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको थियो । त्यसयता १७ सय भन्दा बढी एप प्ले स्टाेरमा प्रतिबन्धित छन् ।
पछिल्लाे पटक गत जुन महिनामा पुनः उक्त भाइरस गुगल प्ले स्टोरमा रहेका ८ एपभित्र घुसेको भन्दै डिलिट गरिएकाे थियाे । हालै साइबर सुरक्षा कम्पनी जेडस्केलरले थप १६ एपमा यस्तो मालवेयर भेटिएको खुलासा गरेको छ ।
जोकर भाइरसलाई गुगलले सन् २०१७ देखि नै ट्र्याक गर्दै आइरहेको थियो । तर यस भाइरसबाट संक्रमित हुने एपको संख्या भने पूर्ण रूपमा रोकिएको छैन ।
जाेकर भाइरसले प्रयोगकर्ताको अनुमति तथा जानकारी बिना एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइसको जानकारी, ओटीपी कोड लगायतका प्रयोगकर्ताका डेटा चोरी गर्न सक्छ ।
भाइरसबाट प्ले स्टोरमा भएका एपहरु आफैं गायब हुने र बैंकिङ जानकारीहरु कब्जामा लिनुका साथै प्रयोगकर्तालाई थाहै नदिई रकम चाेरी हुन सक्छ ।
गुगलले प्ले स्टोरबाट हटाएको भए पनि तपाईंको मोबाइलमा भने अझै यी एप रहेका हुन सक्छन् । प्रयोगकर्ताका लागि निकै खतरनाक यी एप यदि तपाईंको मोबाइलमा पनि छन् भने तुरुन्त डिलिट गर्नु बुद्धिमानी हुनेछ ।
हालै ‘जोकर भाइरस’ फेला परेका १६ एप यस्ता छन्;
    Private SMS
    Hummingbird PDF Converter – Photo to PDF
    Style Photo Collage
    Talent Photo Editor – Blur focus
    Paper Doc Scanner
    All Good PDF Scanner
    Care, Message
    Part Message
    Blue Scanner
    Direct Messenger
    One Sentence Translator-Multifunctional Translator
    Mint Leaf Message-Your Private Message
    Unique Keyboard – Fancy Fonts & Free Emoticons
    Tangram App Lock
    Desire Translate
    Meticulous Scanner
यदि तपाईंले यी मध्ये कुनै एप आफ्नो मोबाइलमा राख्नुभएको छ भने तपाईं जोकर भाइरसको निशानामा पर्न सक्नुहुन्छ ।
जोकर एउटा अत्यन्त खतरनाक भाइरस हो, जसले लगातार रुपमा एन्ड्रोइड डिभाइसलाई निशाना बनाउँदै आएको छ । यो भाइरसको विषयमा जानकारी हुँदा हुँदै पनि यसले गुगलको आधिकारिक एप्लिकेसन बजारमा ठाउँ बनाउन छोडेको छैन ।