पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले घरभाडा र बैंकको ब्याजमा छुट दिन माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणले व्यवसायमा मन्दी आएकाले विशेष छुट दिन आग्रह गरेको हो ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले कम्तीमा पनि ५० प्रतिशत घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो । आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको भन्दै न्यूनतम ५० प्रतिशत भाडा छुट गरी व्यवसायीलाई राहत दिन पोखरा महानगरका घर बहाल लगाउने घर धनी तथा कम्पनीसँग अनुरोध गरिएको फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेलले बताए । कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठूलो समस्या परेको भन्दै हाल बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघले ठहर गरेको छ । सकेसम्म सो समयको बैंक ब्याज मिनाह गरिदिन आग्रह गर्दै बैंक ब्याज बुझाउने समय थप गर्न र तिर्न मिल्ने वातावरण बनाइदिन पनि संघले आग्रह गरेको छ ।