काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । साताको पहिलो दिन सोमबार सेयर बजार परिसूचक उल्लेख्य गिरावट आएको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७५ अङ्कले घटेर २७५३.३४ विन्दुमा बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको परिसूचक दिनभर उतारचढावका बिच अन्ततः नकारात्मक भएर बन्द भएको हो ।
बजारमा ५ अर्ब ४६ करोड ६३ लाख ३८ हजार ६४७ रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । आज बजारमा कारोबार भएकामध्ये २३४ कम्पनीको मूल्य घट्दा ३२ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको स्थिर रहेको छ।
समग्र बजार राताम्मे भए पनि केही विशिष्ट कम्पनीहरूमा भने लगानीकर्ताको उच्च आकर्षण देखियो। नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०४७.६० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पनि १४.९९ प्रतिशत को बढोत्तरी देखिएको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी ३९ करोड ३३ लाख ५० हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो।
यस्तै, हिमालयन रि–इन्स्योरेन्स, रिडी पावर र नेशनल हाइड्रो पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् । बजारमा आज निर्जीवन बीमा कम्पनी र अन्य समूह बाहेक सबैमा सूचक घटेका छन् ।
सरकारले बजेटमा ल्याएको व्यवस्थाका कारण सरकारी स्वामित्व रहेका नेपाल पुनर्बीमा कम्पनीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपालमा हुने सबै प्रकारका बीमाको कम्तीमा १० प्रतिशत उक्त कम्पनीमै पुनर्बीमा गर्नुपर्ने घोषणाले बढाएको हो।
तर, अन्य दुई कम्पनीहरू विशाल बजार र नेपाल टेलिकमको सेयर मूल्य भने घटेका छन् । सरकारले टेलिकमको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने तथा विशाल बजारमा समेत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने निर्णय गरेका कारण यस्तो प्रभाव देखिएको हो।