Welcome to the complete news site

कोरोना संक्रमित भरिभराउ इमर्जेन्सीमै

गण्डकी अस्पतालको कोभिड वार्ड र मेडिकल वार्डमै हाल ८५ जना संक्रमितको उपचार भइरहेको छ ।

0 23

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) इमर्जेन्सी वार्ड । जहाँ एक बेडदेखि अर्को बेडको दूरी १ मिटरभन्दा कम छ । याम कुँवरका ७८ वर्षीय ससुरा टेकबहादुर कुँवर एउटा बेडमा छन् । छेउछाउका बेडमा बिरामी नै छन्, त्यो पनि कोरोना संक्रमित । टेकबहादुरको कोरोना नेगेटिभ देखिएको छ । आफ्ना बिरामीको कोरोना नेगेटिभ भए पनि याम ढुक्क भने छैनन् । छेउछाउका कोभिडका बिरामीबाटै आफूलाई सर्ने हो कि भन्ने पिरलो छ, उनलाई । टेकबहादुरलाई खाना नरुच्ने समस्या भएर अस्पताल आएकोमा उनीहरु यतिखेर सुरक्षित स्थानको खोजीमा थिए । ‘निजीमा भन्दा यहाँ केही सस्तो होला भनेर आएको हो,’ यामले भने, ‘तर यहाँको अवस्था भद्रगोल छ कोभिड–ननकोभिड सबै एकै ठाउँमा राखेका छन् उल्टै कोभिड बोकेर घर गइएला जस्तो भयो ।’ कोरोना देखिएपछि दमौलीबाट आएकी टीकामाया परियार पनि बेड खाली नभएकै कारण इमर्जेन्सीकै बेडमा थिइन् । प्यारालाइसिसका बिरामी टीकामायालाई ज्वरो आएपछि परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनकी बुहारीले गण्डकी हस्पिटल ल्याएकी थिइन् । ‘१३ दिनअघि प्रेसरले ढलेपछि प्यारालाइसिस भयो । अनि थेरापी गर्दागर्दै कोरोना देखिएपछि यहाँ ल्याएकी हुँ,’ बुहारी टीकामायाले भनिन्, ‘यहाँ ल्याएर बेड सोध्दा खाली छैन, एउटा बिरामी डिस्चार्ज हुन लाएको छ, एकछिन कुनोस् भन्नुभयो अनि यहाँ ल्याएर राखियो ।’ ढिलै भए पनि बेड पाउनेमा उनी आशावादी छन् । दम, प्रेसर र प्यारालाइसिसकी बिरामी सासूलाई कोभिड वार्डमै सार्न बुहारीले डाक्टरसँग याचना गरिरहेकी थिइन् । कोरोनाका बिरामीले इमर्जेन्सी वार्ड भरिएको यो पहिलो घटना भने होइन । यसअघि बैशाख अन्तिम साता पनि कोभिड र ननकोभिड एकै स्थानमा राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । त्यस बेला पनि कोरोनाको संक्रमणदर उच्च थियो । पछिल्ला दिन प्रदेशमा संक्रमित उल्लेख्य मात्रामा बढिरहेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी विभागमा दैनिक १०/१५ को हाराहारीमा संक्रमित उपचारका लागि आउने गरेको एक चिकित्सकले जानकारी दिए । ‘कोरोनासँग मिल्दोजुल्दो केस त कति आउँछन् आउँछन् तर रिपोर्ट पोजेटिभ केस पनि धेरै छन्,’ ती चिकित्सकले भने, ‘केही अझै रिपोर्ट पर्खाइमा छन् । रिपोर्ट पर्खाइमा रहेकाहरु सबै संक्रमित होलान्जस्तो लाग्छ ।’ कोरोना संक्रमित इमर्जेन्सीमा भर्ना हुन थालेपछि अरु बिरामी हेर्नै समस्या परेको उनको भनाइ छ । ‘यहाँ त हामीले एउटा एप्रोनको भरमा काम गर्नुपरेको छ,’ उनले भने, ‘यहाँ त एकछिनमै काटेको, घाउ भएको, हातखुट्टा भाँचिएको केस आउँछन्, कसरी व्यवस्थापन गर्ने ?’
कोरोनाका बिरामी हेरेर घाउ चोट लागेका बिरामी हेर्दा आफूहरुकै माध्यमबाट अरुलाई पनि सर्ने उनले चिन्ता व्यक्त गरे । कोभिडका बिरामी हेर्नुपर्दा आफैं संक्रमित हुने हो कि? भन्ने त्रासमा काम गर्नुपरेको उनको गुनासो छ । यसका लागि प्रशासनले फिभर क्लिनिक पुन सुचारु गर्नुपर्ने उनको धारणा थियो । ‘विगतमा फिभरका क्लिनिक र आइसोलेसन वार्ड नै थियो, त्यसैले फिभर भएका आएकाहरुलाई उता रिफर गर्न सजिलो थियो,’ ती चिकित्सकले भने, ‘अहिले आएर सबै एकै ठाउँमा राखिदिएको छ, यसले झनै अव्यस्थित भएको महसुस भएको छ ।’ इमर्जेन्सीमा कोभिडका बिरामी राख्दा आफै संक्रमित हुने गरेको अर्का चिकित्सकले बताए । एक जनामात्र चिकित्सक कोभिड भएर आइसोलेसन बस्नु पर्दा पनि इमर्जेन्सीमा गाह्रो पर्ने उनले बताए । १ जना प्यारामेडिक कोरोना भएर होम आइसोलेसनमै बसिरहेको उनको भनाइ थियो । यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भने बेड खाली नहुँदा कोरोना संक्रमितलाई पनि इमर्जेन्सीमा राख्नुपरेको जनाएको छ । कोरोनाका बिरामीका लागि छुट्याएको बेड तत्काल खाली नहुँदा संक्रमितलाई इमर्जेन्सीको बेडमा कुराएर राख्नु परेको प्रतिष्ठानका कोभिड सम्पर्क व्यक्ति (फोकल पर्सन) डा. शरदचन्द्र बरालले बताए । ‘कोभिड वार्ड र मेडिकल वार्डमा गरी अहिले ८५ जना संक्रमित छन्,’ उनले भने, ‘निको भएकाहरुलाई डिस्चार्ज गरेर नयाँ संक्रमितलाई व्यवस्था गरिरहेका छौं ।’ अर्कोतर्फ अस्पतालको भवनमा रेट्रोफिटिङ सुरु भएका कारण पनि बेड व्यस्थापनमा समस्या परेको डा. बरालको भनाइ छ । त्यसैले पनि पिसिआरको नतिजा नआएकाहरु र लक्षण देखिएकाहरु इमर्जेन्सीमा कुरेर बस्नुपरेको अवस्था रहेको बराल बताउँछन् । ‘म दैनिक बिहानको समयमा इमर्जेन्सीमा बुझ्न जान्छु,’ उनले भने, ‘दैनिक ६/७ जना कोरोना संक्रमित त्यहाँ हुने गरेका छन् ।’ पुराना भवन बनाउँदै गरेको कारण पनि नयाँ भवनमा सबै बिरामी भरिभराउ छन् । कोरोना यही गतिमा बढ्दै गए मेडिकल र ओपिडीमा भर्ना कम गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्ने योजना रहेको डा. बरालले बताए । कोरोना बढिरहेको अवस्थामा नागरिक सजग नहुने हो भने समस्या अझ बढ्ने भएकाले स्वास्थ्य मापदण्डमा ध्यान दिन उनको सुझाव थियो ।