Welcome to the complete news site

४६ करोड ठगीको आरोपमा एमालेका पूर्वसांसद् तामाङ पक्राउ

0 16

काठमाडौँ । नेकपा (एमाले)का पूर्वसांसद् तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।
को हुन् इच्छाराज तामाङ ?

नेकपा (एमाले) बाट राजनीतिक संरक्षण प्राप्त गरेका तामाङ सिभिल ग्रुपका अध्यक्ष हुन् । उनलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो । संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए । यसरी उनले राजनीतिको आडमा देशको संवेदनशील क्षेत्रको कानून तर्जुमा प्रकृयामै हस्तक्षेप गर्ने हैसियत बनाएका थिए। इञ्जिनियरिङ पृष्ठभूमिका तामाङले उनले घरजग्गा कारोबारदेखि पूँजीबजार, बैंक र सहकारीसम्मका क्षेत्रमा हात हालेका थिए । २०५७ सालमा सिभिल क्रेडिट एण्ड सहकारी संस्था खोलेका तामाङको आर्थिक क्षेत्रमा संलग्नता दोस्रो जनआन्दोलनपछि अस्वाभाविक ढंगले बढेको थियो।