Welcome to the complete news site

हिमालीपारी खोप सुनिश्चित

0 18

पोखरा । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोप सुनिश्चित जिल्ला बनेका छन् । गण्डकी प्रदेशअन्तर्गतका यी २ जिल्लाका १८ वर्षमाथि नागरिक सबैले खोप लगाएका छन् । जिल्लाबाहिर रहेका बाहेक सबै नागरिकले खोप लगाएको सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जनाएका हुन् । जसअनुसार मुस्ताङका ९ हजार र मनाङका ४ हजार बढी नागरिकले खोप लगाएका हुन् ।
मनाङमा सोमबार नै सबैले खोप लगाएका हुन् भने मुस्ताङका मंगलबारसम्म खोप लगाउँदै थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको चासो र प्राथमिकता कारण मनाङ मुलुकभरकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले बताए । पूर्ण खोप सुनिश्चित भएका जिल्लामा पहिलो मनाङ र दोस्रो मुस्ताङ भयो ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् । उनका अनुसार कोभिसिल्डको दोस्रो चरण खोप लगाउन १ सय ६५ जना बाँकी छन् । मनाङमा कोभिसिल्डको पूर्ण खोप २ हजार ९६, जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना छन् । उनका अनुसार स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५ सय रहेको अनुमान गरेको थियो । मनाङमा गत माघ १४ देखि खोप अभियान सुरु भएको थियो । बाढीपहिरो र असहज परिस्थितिबीच चुनौती खेपेर जिल्लालाई पूर्ण खोप घोषणा गरिएको आचार्यले बताए । जनसंख्या कम भएका कारण अन्य जिल्लाको वडामा लगाउने खोपले मुस्ताङका सबै नागरिकले खोप लगाउन पाएको उनको भनाइ छ । ‘मनाङ विकट र संकटग्रस्त जिल्ला भएकाले पनि हामीले खोप सुनिश्चित गर्न भनेका थियौं,’ उनले भने, ‘त्यही अनुसार प्रदेशले पनि सहयोग गर्‍यो र जिल्लामा भएका सबैलाई खोप लगाउन सफल भयौं ।’ जिल्ला बाहिर बसेकाहरु र कोरोना संक्रमितहरु केही लगाउन बाँकी भएकाले खोप कार्यक्रम पछि सम्म पनि सञ्चालन गर्ने उनी बताउँछन् । मनाङमा अहिले पनि १० जना सक्रिय संक्रमित छन् । जिल्लामा १ सय ३६ जना संक्रमितमध्ये १ सय २४ संक्रमणमुक्त भएका छन् । जिल्लामा २ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबैले कोरोनाविरुद्धको खोप लगाएका हुन्

यसैगरी, मुस्ताङमा लगभग ९ हजार ४ सय जनाले खोप लगाएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए । ‘मुस्ताङमा लगभग मुस्ताङ भएको १८ वर्षभन्दा माथिका जनताले खोप लगाएका छन्,’ उनले भने, ‘टाढाटाढाबाट डाटा आउन समय लाग्छ । मेरो विचारमा मंगलबारसम्म ९ हजार ४ सय जनाले जतिले खोप लगाएका छन् ।’ जसमध्ये कोभिसिल्ड ३ सय २१ भायल लगाएकाले दोस्रो डोज लगाउन बाँकी छ । कोभिसिल्डको ३ सय २१ भायलमध्ये १ भायल खोलेपछि १० डोज खोप लगाउन मिल्छ । मुस्ताङमा ६ हजार ५ सय डोज जोन्सन एन्ड जोन्सन, ४ हजार ४ सय ८० भेरोसेल र ३ सय २१ भायल कोरोनाविरुद्धको खोप पुगेको थियो ।
खोप लगाउन योग्य सबैले खोप लगाएसँगै जिल्लालाई अब कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न मात्र बाँकी रहेको उनको भनाइ छ । मुस्ताङमा २ सय ६२ संक्रमितमध्ये २ सय ४४ निको भएका छन् । जिल्लामा अझै ३ सक्रिय संक्रमित छन् । कोरोनाकै कारण मुस्ताङका १५ जनाले ज्यान गुमाएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १८ सम्मको तथ्यांकअनुसार प्रदेशभर ५ लाख २३ हजार ३ सय २० जनाले खोप लगाएका छन् । त्यसमध्ये १ लाख ७७ हजार ११ जनाले दोस्रो डोज लगाए । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा २९ हजार १ सय ८१ जनाले दुवै डोज लगाएका छन् । यसैगरी तनहुँमा २६ हजार ७ सय ३८, नवलपुरमा २२ हजार ३ सय ६८, स्याङ्जामा १९ हजार ९ सय ६५ र बागलुङमा १८ हजार २ सय १० जनाले दुबै डोज लगाएका छन् । यस्तै लमजुङका १५ हजार १ सय १६, पर्वतका ११ हजार २ सय १९ र म्याग्दीका ४ हजार ४ सय ४२ जनाले पूर्ण खोप लगाएका छन् भने प्रदेशका मनाङ र मुस्ताङबाहेक अन्य जिल्लाका अधिकांश नागरिक दोस्रो डोज पर्खाइमा छन् ।