‘हामी तीन भाइ’ को सिक्वेल बन्ने, अस्मिताको आवाजमा ‘झम्के फुली’ गीत
राजेश हमाल, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा र नन्दिता केसीको अभिनय रहेको फिल्म ‘हामी तीन भाइ’ को सिक्वेल बन्ने भएको छ । निर्देशक मधुसुदन भट्टराईले अहिलेका कलाकारहरु लिएर यो नामबाट फिल्म बनाउन लागेका हुन् ।
फिल्मको मंगलवार ‘झम्के फुली’ बोलको एक गीत रेकर्ड गर्दै काम सुरु भएको छ । साप शक्तिको संगीत रहेको गीतमा अस्मिता अधिकारी र संगीतकार शक्तिले स्वर भरेका छन् ।
सलोन बस्नेत, जहान्वी बस्नेत, शिशिर राणा, विकास चापागाईँ, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहने फिल्मका केही कलाकार छनौटको क्रममा छन् ।
फिल्मको प्रस्तुतकर्तामा साजित महत हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, मनिष गौतम र रिवाज दाहालको लेखन छ । पारिवारिक प्रेमकथामा आधारित रहने फिल्म प्रसिद्धि सिनेआर्टसको ब्यानरमा बन्न लागेको हो ।