Welcome to the complete news site

स्वास्थ्य बीमा कार्यक्रमः अपाङ्गलाई बेवास्ता

0 7

हाल अनामनगर बस्ने स्याङ्जाकी ४९ वर्षिया इन्द्रा क्षेत्री गएको बैशाखमा भर्‍याङबाट लडिन्, यसले उनको ढाडमा ठूलो चोट पुग्यो । अहिले उनलाई ओल्लोबाट पल्लो कोठा सर्नसमेत परिवारका सदस्यको सहयोग चाहिन्छ, ह्वीलचियर नै उनको साथी भएको छ ।

गाउँबाट सुत्केरी बुहारीलाई हेरचाह गर्न आएकी क्षेत्री भर्याङबाट लड्दा आफै अपाङ्ग भइन् । लामो समयसम्म नियमित थेरापी, औषधि उपचारमा धेरै रकम खर्च भएपछि उनी विक्षिप्त छिन् । कारण उनले स्वास्थ्य बीमा गराएपनि औषधि उपचारमा सहयोग भएन । ‘गाह्रो पर्दा उपचारमा सहज होला भनेर डेढ वर्षअघि स्वास्थ्य बीमा गराएकी थिएँ । तर, अपेक्षाअनुरुप सेवा सहयोग पाइएन,’ उनी दुःखेसो पोख्छिन् ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई घरघरमा, जनजनमा पुर्याउने अभियानलाई तीव्रता दिइरहेको छ । तर, स्वास्थ्य बीमा गरेका अपाङ्ग तथा रोग र दुर्घटनाका कारण पछि अपाङ्ग भएका व्यक्तिलेसमेत नियमित खाने औषधिमा सहयोग पाइरहेका छैनन् ।

स्वास्थ्य बीमा बोर्डले अपाङ्गता भएका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागिता गराउने जनाएको छ । बोर्डका अनुसार नेपालमा विभिन्न वर्गका ८१ हजार ५९३ जना अपाङ्गहरुले स्वास्थ्य बीमा गराएका छन् ।

अपाङ्ग नागरिकका लागि सहयोगी उपकरणको अति आवश्यक पर्छ । जन्मजात अपाङ्ग हुने वा रोग र दुर्घटनाका कारण पूर्ण अशक्त, अति अशक्त, मध्यम तथा सामान्य अपाङ्ग भएका नागरिकलाई ह्वीलचियर, कृत्रिम हात–खुट्टा, स्पिेसियल चियर, सेतो छडी, कम्बोड, बैशाखी, लौरी, बाकर, एल्बोक्रचेस, छातीको अर्थोसिसजस्ता सामान चाहिने हुन्छ । यसका साथै, विभिन्न रोगको औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ असन्तुष्ट

स्वास्थ्य बीमा कार्यक्रममा अपाङ्ग व्यक्तिलाई सामान्य सेवाबाहेक अन्य सेवा समावेश नगरिएको अपाङ्गहरुको हकहितमा आवाज उठाउँदै आएका सरोकारवाला बताउँछन् । स्वास्थ्य बीमा गरेका अपाङ्ग व्यक्ति र अन्य व्यक्तिलाई एउटै खालका सेवा सुविधा दिनु उपयुक्त नहुने राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी केन्द्रिय उपाध्यक्ष रमा ढकाल बताउँछिन् ।

ढकालका अनुसार अपाङ्ग भएका व्यक्तिलाई अगाडि बढ्न यान्त्रिक सामग्रीले ठूलो सहयोग गर्छ । फरक फरक किसिमका अपाङ्गहरुले अतिआवश्यकीय सहयोगी तथा यान्त्रिक सामग्रीको पुहँचमा पुग्न नसक्दा धेरै अवसरबाट बञ्चित हुँदै आएका छन् ।

स्वास्थ्य बीमा नियमावली २०७५ को परिच्छेद ३ को १४ मा बार्षिक रुपमा बोर्डले तोकेभन्दा बढी मूल्यका चस्मा, श्रवण यन्त्र, सेतो छडी, र वैशाखी बाहेकको सेवा स्वास्थ्य बीमाबाट नपाइने उल्लेख गरिएको छ । परिच्छेद २ उपनियम (१) आकस्मिक अवस्थामा प्रदान गरिने एम्बुलेन्स सेवाअन्र्तगत अतिगरिबको परिचयपत्र प्राप्त गरेका र अति अशक्त अपाङ्गता भएका (रातो कार्ड) भएका बिमितलाई प्रथम सेवा विन्दुसम्म पुग्न लाग्ने यातायात खर्च वा बढीमा दुई हजारमध्ये कुन कम हुन्छ, सोही रकम उपलब्ध गराउन सकिने उल्लेख छ ।

‘अपाङ्ग व्यक्ति सबैलाई स्वास्थ्यमा एउटै मात्रै समस्या हुँदैन,’ राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेत भन्छन्, ‘स्वास्थ्य बीमाले दिने औषधि उपचारले पुग्दैन, जुन अस्पतालमा उपचार गराउन सम्भव छ, त्यही जानुपर्छ । स्वास्थ्य बीमामा केही औषधि उपचारको सेवा निःशुल्क भएपनि ग्रामीण भेगका भौगोलिक विकटताले सेवा लिनबाट कैयौं बञ्चित छन् ।’

बीमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका ख, ग, घ वर्गका अपाङ्गहरुलाई समेत आवश्यक पर्ने औषधि र सामान उपलब्ध गराइदिए जीवनयापन सहज हुने बस्नेतको भनाइ छ । स्वास्थ्य बीमा नियमावली २०७५ ले पूर्ण अपाङ्गता भएका व्यक्तिबाहेक अन्य अपाङ्गलाई समेट्न सकेको छैन । त्यसैले, बोर्डले अपाङ्गता भएकालाई दिने सुविधाबारे नियमावली तुरुन्त सच्याउन पहल गर्नुपर्ने जिकिर गर्छन् बस्नेत ।

रातो कार्ड बाहेकलाई मात्रै सुविधा

स्वास्थ्य बीमा बोर्डले ऐनले उल्लेख गरेअनुसार स्वास्थ्य बीमा गर्ने र त्यहीअनुसार औषधि उपचारको लागि सेवा दिने गरेको बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेती बताउँछन् । सबै वर्गका अपाङ्ग व्यक्तिहरुको औषधि उपचार, सहयोगी यान्त्रिक सामग्री उपकरणमा स्वास्थ्य बीमा कार्यक्रमा समावेश गर्न ऐन नै बाधक छ । रातो कार्ड प्राप्त गरेका अपाङ्गबाहेक अन्य वर्गका अपाङ्गलाई त्यो सुविधा छैन । स्वास्थ्य बीमा कार्यक्रमले पूर्ण रुपमा सबै वर्गका अपाङ्गलाई समेट्नुपर्नेमा आफूहरु सहमत रहेको उप्रेतीको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अधिकृत महेन्द्र गिरीले अपाङ्गता भएकाले व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रमले समेट्न नसकेकाले त्यस विषयमा स्वास्थ्य बीमा बोर्डसँग छलफल भइरहेको बताउँछन् ।

स्वास्थ्य बीमामा रुची कम

नेपालमा कुल जनसङ्ख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्, जसमा ३६ प्रतिशत व्यक्ति शारीरिक रुपले अपाङ्ग छन् । २ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ११ प्रतिशतमा अपाङ्गता भएको सन् २०२० मा प्रकाशित मल्टिपल इडिकेटर कोलोस्टर सर्भे (एमआइसीएस) ले जनाएको छ ।

अपाङ्ग अनि आर्थिक रुपमा कमजोर भएका व्यक्तिले स्वास्थ्य बीमा गरेको खण्डमा पनि कम्तीमा औषधि उपचार निःशुल्क, सहयोगी यन्त्र उपकरणको व्यवस्थातर्फ सम्बन्धित निकायले ध्यान दिन नसकेको पीडित ईन्द्र क्षेत्री जस्ता धेरैको गुनासो छ ।

अशक्त र अति अशक्त अपाङ्गता भएका क वर्गका व्यक्तिलाई मुटु, मृगौला, क्यान्सर जस्तो रोग लागेमा सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने व्यवस्था गरिएको छ । तर, अपाङ्ग भएका ख, ग तथा घ वर्गका व्यक्ति समयमै उपचार पाउन नसक्दा अति अशक्त अवस्थामा पुग्ने गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०६४ को परिच्छेद ७ मा स्वास्थ्य पुनःस्थापना, सामाजिक सुरक्षा तथा मनोरञ्जनको ३२ को (ग) मा स्वास्थ्य स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । यसअनु्सार हालसम्म स्वास्थ्य बीमा कार्यक्रम ७६ जिल्लाको ७३९ पालिकामा पुगेको छ । हालसम्म २६ प्रतिशत घरपरिवारले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए । पर्याप्त सुविधा दिन नसक्दा स्वास्थ्य बीमा गराउनेहरुको रुची कम हुँदै गएको स्वास्थ्य बीमा बोर्डका अधिकारीहरु स्वीकार्छन् ।