स्याङजा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको उम्मेद्वारी घोषणा
स्याङ्जा । नेपाली काँग्रेसका युवा नेता राजु थापाले स्याङजा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। आसन्न १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारबाट शुरु भएको वडा अधिवेशनका क्रममा नेता थापाले जिल्ला सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । थापाले आफ्नो वडा पुतलीबजार नगरपालिका वडा नं ४ को वडा अधिवेशनको कार्यक्रम मार्फत आफू नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापतिको लागि स्वतः उम्मेद्वारी भएको उल्लेख गर्दै काँग्रेसको १४ औं महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका हुन् । उनले जिल्लाभित्रको काँग्रेसको संगठनलाई थप चुस्त बनाउन र पार्टीको संगठनलाई थप मजबुत बनाउन आफूले उम्मेद्वारी दिएको बताए । जिल्लामा सभापति पदका लागि धेरै आकाँक्षी रहेपनि थापाले आधिकारिक रुपमा पहिलो पटक उम्मेद्वारी घोषणा गरेका हुन्। पार्टीभित्र रहेका तिक्तता र सबैलाई एक बनाएर लैजान समेत आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहने थापाको विश्वास छ। लामो समय जिल्लाको राजनीतिमा सक्रिय रहेका थापाले दोश्रो संविधान सभाको निर्वाचनमा स्याङजा जिल्ला क्षेत्र नं १ बाट संविधान सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसभित्र मात्र नभई समत्र स्याङ्जावासी जनताकाबीच लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।