Welcome to the complete news site

स्पेनसामु क्रोएसियाको परिक्षा

एजेन्सी – विश्वकपको उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ अन्तर्गत सोमबार तीन पटकको युरो च्याम्पियन स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

0 40

सोमबार, असार १४, २०७८  स्पेनले पछिल्लो तीन मुख्य प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गर्न सकेको छैन । सन् २०१६ को युरोमा स्पेनलाई इटालीले राउन्ड अफ १६ मा पराजित गरेको थियो । यस्तै क्रोएसिया भने त्यसबेला राउन्ड अफ १६ मै पोर्चुगलसँग हारेको थियो । दुवै टोलीले यसपटक समूह चरणमा १-१ जित दर्ता गरेका छन् ।

स्पेनले समूहको अन्तिम खेलमा स्लोभाकियामाथि ५-० को फराकिलो जित दर्ता गरेको थियो । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले स्पेनविरुद्ध टोलीले आफ्नो स्तरअनुसार खेल्न जरुरि रहेको बताएका छन् । क्रोएसियाले सुरुवाती दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेपनि अन्तिम खेलमा स्कटल्यान्डमाथि जित हासिल गरेको थियो ।

‘स्पेनले स्लोभाकियाविरुद्ध आफ्नो स्तर अनुसारको प्रदर्शन गर्यो । स्पेनमा युवा, तेज र जोशिला खेलाडी छन् । उनीहरुले पासमा निर्भर रहेर निरन्तर विपक्षीलाई दबाबमा राख्न सक्छन्,’ प्रशिक्षक डालिचले भने, ‘हाम्रो पनि आफ्नो खेल्ने शैली छ । उनीहरुलाई सहज रुपमा खेल्न दिने छैनौं । हामीले यो पनि बुझ्न जरुरि छ कि आक्रमण पनि डिफेन्स गर्ने एक माध्यम  हो।’

स्पेनका फरवार्ड ड्यानी ओल्मोले ५ वर्ष क्रोएसियाको डिनामो जाग्रेबबाट खेलेका थिए । उनले क्रोएसियालाई कमजोर आँक्न नमिल्ने बताए । ‘जुन खेलमा पनि क्रोएसियाको टोली निकै कडा चुनौती पेस गर्छ । उनीहरु आफ्नो देशका लागि सबैथोक दिन तयार हुन्छन्,’ उनले थपे, ‘उनीहरु आफ्नो सफलतामा गर्व गर्छन् । कठिन परिस्थितिमा खरो उत्रने क्षमता उनीहरुमा छ । आजको खेल जसले पनि जित्न सक्छ ।’

क्रोएसियाका लागि यस खेलमा अनुभवी फरवार्ड इभान पेरिसिच टोलीमा हुने छैनन् । कोरोना संक्रमणका कारण उनी आसोलेसनमा छन् । उनको अनुपस्थितिमा क्रोएसियाले आन्द्रे क्रमारिच र आन्टे रेबिचलाई आक्रमणको जिम्मेवारी सुम्पने देखिन्छ । निकोला भ्लासिच, लुका मोड्रीच, म्याटियो कोभाचिच मिडफिल्डमा हुनेछन् ।

स्पेनले कप्तान सर्जियो बुस्केट्सको साथ नियमित पाउनेछ । अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका पाब्लो सराबियाले आफ्नो स्थान राख्ने पक्का जस्तै छ । अल्भारो मोराटाले अपेक्षित प्रदर्शन गर्न नसक्दा उनको स्थानमा जेरार्ड मोरेनोले खेल्ने सम्भावना पनि छ । मिडफिल्डमा अर्को खेलाडी थप्न एन्रिकेले मुख्य फरवार्डमा मोरेनोलाई खेलाउन सक्छन् ।