Welcome to the complete news site

सेयर बजारमा विकृत खेलोफड्को : दोष कसको ?

0 69

पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव आइरहँदा धितोपत्र बजार (सेयर मार्केट) मा पनि ठुलो तरङ्ग आएको छ । कारण झण्डै ३५ सय बिन्दु हाराहारी पुग्न लागिसकेको नेप्से एकाएक ओरालो लागिरहेको छ । यसले नै बजारमा तरङ्ग ल्याएको हो । यसको सम्पूर्ण दोष राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिमा खन्याइएको छ । राष्ट्र बैङ्कले गत साउन २९ गते आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । जुन नीतिमार्फत बैङ्कले धितोपत्र बजारलाई समेत प्रभाव पार्ने गरी पहिलोपटक धितोपत्र (सेयर) धितो कर्जामा अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । मौद्रिक नीतिमार्फत गरिएको सोही व्यवस्थाका कारण नै अहिले बजार घटेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैङ्कमाथि धारेहात लगाइरहेका छन् । तर, राष्ट्र बैङ्क यो मान्न तयार छैन । ‘नियामक निकाय राष्ट्र बैङ्कले कुनै एक क्षेत्रलाई हेरेर निर्णय गर्ने वा नीति बनाउने काम गर्दैन, समग्र वित्तीय क्षेत्रलाई नै हेरेर बनाउँछ । यसमा कसले के भन्छ र के गर्छ, हाम्रो सरोकारको विषय भएन । तर, यसैलाई लिएर राष्ट्र बैङ्कले लिएको समग्र अर्थ नीतिलाई दोष दिनुको कुनै तुक छैन । सेयर बजारको जिम्मा हामी लिन सक्दैनौँ,’ राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले रातोपाटीसँग भने । त्यसो त गत साउन २९ गते शुक्रबार केन्द्रीय बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेलगत्तै साउन ३१ गते खुलेको बजारमा अधिकतम २४.५७ अङ्कको गिरावट आएको थियो । अघिल्लो दिन अर्थात् मौद्रिक नीति आउनु पूर्वमात्र ३१ सय ७९ बिन्दुमा रहेको बजार चौथो दिनमै ३१ सय ५४ बिन्दुमा झर्न पुग्यो । नेप्सेमा यो गिरावट अहिले पनि जारी छ । बुधबार अर्थात् भदौ २३ गतेसम्म नेप्से परिसूचक २७७.७५ बिन्दुले घटिसकेको छ । यस्तै अवस्था अझै रहिरहे बजार पुनः बियरिस (घट्दो क्रममा) जाने खतरा बढेको आम लगानीकर्ताहरूले बताउन थालेका छन् । तर, राष्ट्र बैङ्कका प्रवक्ता ढकाल भन्छन्, ‘हामीले सेयर बजारलाई मात्र हेरेर नीति बनाउने होइन, मुलुकको समग्र अर्थतन्त्रलाई हेरेर नीति बनाउने हो । यसमा कुन क्षेत्रको उत्थान जरुरी छ, के मा लगानी आवश्यक छ, त्यसमा बैङ्कले ध्यान दिने हो । अहिलेको आवश्यकता भनेको लघु, घरेलु तथा साना उद्योग, मझौला व्यवसायीहरू र उनीहरूको उत्थान हो । यसैले मुलुकको अर्थतन्त्र माथि उठाउने हो । अहिले बैङ्क यिनै क्षेत्रको उत्थानमा केन्द्रित भएको छ । यो वा त्यो अरू हामी जान्दैनौँ,’ ढकालले भने ।

लगानीको सिलिङ तोक्नु गलत : लगानीकर्ता
सेयर बजार विज्ञसमेत कहलिएका लगानीकर्ता छोटेलाल रौनियार सेयर बजार घट्नुको मुख्य दोषी राष्ट्र बैङ्क नै भएको दाबी गर्छन् । लगानीको सिलिङ ४–५ करोड भन्दै बैङ्कले तोक्नु नै गलत भएको उनको बुझाइ छ ।
‘अहिलेको समयमा बढीभन्दा बढी झण्डै मासिक एक अर्ब ५० करोड रुपैयाँ हाराहारीमा कर बुझाउने ३५ लाख लगानीकर्ताहरू संलग्न रहेको सेयर बजारमा सोचविचार बिनै एक्कासि निर्णय गर्नु बैङ्कको भूल हो । बैङ्कबाट मौद्रिक नीतिको नामा जुन नीति आयो, यसबाट हामी आम लगानीकर्ताहरू चकित भएका छौँ । राष्ट्र बैङ्कजस्तो जिम्मेवार निकायबाटै यस्तो गल्ती हुन्छ भने कहाँ जाने ? यो नियोजित षडयन्त्र नै हो,’ रौनियारले भने, ‘पहिलोपटक धितोपत्र बोर्डले अनावश्यक फन्डा गरेर सेयर बजारलाई प्रभावित पा¥यो, अहिले फेरि राष्ट्र बैङ्कले । के सेयर बजार चाहिँ बढ्नै नहुने ?’ रौनियारले प्रतिप्रश्न गरे । यतिखेर सेयर बजार घट्नुमा मुख्य दोषी राष्ट्र बैङ्क नै रहेको आम लगानीकर्ताहरूले आरोप लगाइरहेपनि मुख्य कुरा बजार केही सीमित व्यक्तिहरूले चलाइरहेको तथ्य लुक्न सकेको छैन । जुन तथ्य धितोपत्र कारोबार गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समेत स्वीकारेको छ । बजार केही सीमित व्यक्तिहरूको हालमा रहेको र तिनले नै चलखेल गर्दा प्रभावित हुन पुगेको नेप्से स्रोतको भनाइ छ । यो नेप्सेको नियन्त्रण बाहिर रहेको समेत स्रोत बताउँछ ।
हल्लामा टिकेको बजार

केन्द्रीय बैङ्कले ल्याएको नीतिकै कारण सेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा नै मागे । अझ अघि बढेर सोमबार उनीहरूले आन्दोलन नै गरे । लगानीकर्ताहरू आन्दोलनमा उत्रन लागेको खबर पाएपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न गभर्नर अधिकारीलाई निर्देशन दिए । सो दिनको कारोबार सुरु हुनुअघि अर्थमन्त्री–गभर्नर टेलिफोन वार्ता भएको र सेयर धितो कर्जाको प्रावधान हटाउने केन्द्रीय बैङ्कले जवाफ दिएको खबर सार्वजनिक भयो । सोही खबरलाई भजाउँदै सेयर बजारमा चलखेल गर्नेहरूले फेरि खेल सुरु गरे । नतिजा ः सो दिन नेप्से परिसूचक १६१.९४ अङ्कले बाउन्स ब्याक भयो । अघिल्लो दिन अर्थमन्त्री–गभर्नर टेलिफोन संवादलाई बजार बढाउने अस्त्र बनाएकाहरू भोलिपल्ट भने पुँजीबजारमा जम्न सकेनन् । बुधबार त नेप्से परिसूचक ६०.२ अङ्कले घटेर २८७६.५९ अङ्कमा आइपुगेको छ । यस्तो भएपछि लगानीकर्ताहरू फेरि केन्द्रीय बैङ्कतर्फ नै आक्रामक भएका छन् । कारण हो बैङ्कका प्रवक्ताले केन्द्रीय बैङ्कले ल्याएको नयाँ नीति कम्तीमा सो चौमासिकसम्म संशोधन हुन नसक्ने जानकारी दिनु । प्रवक्ता ढकालले मौद्रिक नीति तत्काल संशोधन हुन नसक्ने जानकारी सोमबारै दिएका थिए । यसरी, ठुला लगानीकर्ताले गर्ने हल्ला र चलखेलमा फसेका साना लगानीकर्ताहरू अहिले पुँजीबजारमा गुमाउने अवस्थामा पुगेका छन् । उनीहरूले आफ्ना हकमा खासै प्रभावकारी नहुने सेयर धितो कर्जासम्बन्धी व्यवस्थालाई लिएर केन्द्रीय बैङ्कमाथि आक्रोश पोखिरहेका छन् । ठुला लगानीकर्ताहरूले चाहिँ कर्जा सीमा अन्त्य गरी पूँजी आफ्नो हातमा लिएर बजारमा चलखेल गर्न साना लगानीकर्तालाई मोहरा बनाउन खोजिरहेका छन् ।