Welcome to the complete news site

सीमा सुरक्षा सुस्त, बनेन बिओपी

गण्डकीका ३ जिल्लाका उत्तरी सिमा नाका नजिक ४ बिओपी बनाउने योजना भए पनि अहिलेसम्म मुस्ताङमा मात्रै बनाइएको छ ।

0 11

पोखरा । गण्डकी प्रदेशका ३ जिल्ला उपल्लो छिमेकी चीनसँग जोडिएका छन् । मनाङ, मुस्ताङ र गोरखा चीनसँग प्रत्यक्ष व्यापार समेत हुने जिल्ला हुन् । बेलाबखत २ देशको सिमानामा व्यापार मेला नै लाग्छ । त्यसैले माथिल्लो छिमेकीले सीमा सुरक्षालाई निकै महत्वका साथ हेरेको छ । त्यहाँ आफ्ना सेना तैनाथ गरेको छ भने कतिपय ठाउँमा सिसी क्यामरा नै जडान गरिएका छन् । सीमामा तारबार लगाएको छ तर नेपालतर्फ भने सीमा सुरक्षा खासै चासोमा परेको छैन । मुस्ताङमा भर्खरै बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) स्थापना भएको छ । सिमाना कोरला नाकाभन्दा १४ किलोमिटर वर नेचुङ भन्सार भएकै ठाउँमा बिओपीको भवन निर्माण भइरहेको हो । त्यहाँ इन्स्पेक्टर कमान्डमा २२ जना सशस्त्र प्रहरी खटिएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । डेढ वर्षअघि मुस्ताङमा बिओपी स्थापना भएको थियो । ‘भवन बनिरहेको छ । अहिले भन्सार भएकै ठाउँमा उहाँहरु बसिरहनुभएको छ,’ उनले भने, ‘आवश्यक स्रोत पुगेको छैन । हामी व्यवस्थापन गर्दै छौं ।’ मुस्ताङको लोमान्थाङ ५, थुलुङमा नेपाली सेनाको टोली पनि छ । मेजरको नेतृत्वमा ५० जनाभन्दा बढी सेना त्यहाँको सुरक्षाका लागि खटिएका हुन् । त्यसबाहेक नेपाल प्रहरी समेत खटिएको छ । गोरखाका २ ठाउँमा बिओपी राख्नुपर्ने छ । तर कोरोना र बाढीपहिरोलाई देखाएर सशस्त्र प्रहरी पठाइएको छैन । ‘कोभिडको कारण जान गाह्रो छ । बाटोघाटो पनि राम्रो छैन । त्यहाँ पठाएर खाने कुरा पाउनै मुस्किल छ,’ प्रजिअ शालिग्राम शर्मा पौडेलले भने, ‘अत्यन्तै विकट छ । कोही बिरामी भयो भने उपचार पाउनै समस्या हुन्छ । तैपनि अब पठाउछौं ।’ उनका अनुसार छेकम्पार र सामागाउँमा बिओपी स्थापना गर्न लागिएको हो । कसैको घर भाडामा लिएर भए पनि वर्षात कम हुने वित्तिकै समन्वय गरेर प्रहरी खटाउने उनको भनाइ छ । हाल त्यहाँको सीमा सुरक्षा पनि नेपाल प्रहरीले नै गर्दै आएको छ । सामागाउँ, लार्केपास, फिलिम र छेकम्पारमा नेपाल प्रहरीको चौकी छ । आवश्यक पर्दा त्यहाँबाट प्रहरी खटाउने गरिएको पौडेलले बताए ।
मनाङको नार्पाभूमि गाउँपालिकास्थित च्याखुमा बिओपी स्थापना गर्ने तयारी छ । पालिकाले १५ रोपनी जग्गा छुट्टाएको छ । मनाङ तिब्बतको काङछिमी नाकासँग जोडिएको छ । नेपालतर्फ त्यसलाई खाङवीर नाकाको नाममा चिनिन्छ । ३ दशकअघि यहाँबाट तिब्बतसँग व्यापार हुन्थ्यो । अहिले भने प्रचलनमा छैन । मुस्ताङ र गोरखाको जस्तो यहाँको नाका सजिलो छैन । मुस्ताङमा १८ देखि ३१ नम्बरसम्मका स्तम्भ छन् भने गोरखामा ३४ देखि ३९ नम्बरसम्मका स्तम्भ छन् । मनाङमा अहिलेसम्म कुनै पनि स्तम्भ फेला नपरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) होमनाथ पन्थीले बताए । ‘एउटा पनि भेटिएको छैन । पहिलेदेखि नै खोजी प्रयास भएको रहेछ तर एकिन हुन सकेको छैन,’ डिएसपी पन्थीले भने, ‘धेरै अप्ठेरो ठाउँ छ । पुग्न र खोज्न निकै गाह्रो हुन्छ ।’ उनका अनुसार ३८.५ किलोमिटर लामो सीमा मनाङमा मात्रै पर्छ । उत्तरी सीमा नाकाबाट कहिलेकाहीँ चोरी निकासी हुने गरेका समाचार आउँछन् । बिओपी स्थापना भएपछि यस्ता कामहरु स्वतः घटेर जाने विश्वास छ ।
गोरखामा ८ नाका छन् । त्यसमध्ये २ प्रचलनमा आएका छन् । नेलधज्याङ र रुइला नाका व्यापारिक हिसाबले बेलाबेलामा खुल्ने गरे पनि कोभिडका कारण २ वर्षदेखि पूर्णतः ठप्प छन् । गण्डकी प्रदेशसभा अन्तर्गत प्रदेश मामिला समितिले २ वर्षअघि दुवै देशको सीमाक्षेत्र अवलोकन गरेर अन्तर्राष्ट्रिय सीमालाई आधुनिक व्यवस्थापन र सीमा सुरक्षा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको थियो । प्रदेश सरकारले त्यसउपर केही काम गरेको छैन । चीनसँग सीमा जोडिएका १५ जिल्लाको २१ सीमा नाकाबाट व्यावसायिक सम्बन्ध बिस्तार गर्न सक्ने अवस्था छ । त्यसका लागि सरकारले बिओपी स्थापना गर्न लागेको हो । नेपाल र चीनको सिमाना १ हजार १ सय १४ किमी लामो छ ।