काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक ८ गते) अन्तिम दिन हो।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइतबारसम्ममा १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ।
यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३१.१३ गुणा बढी हो। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।