चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ७२.७१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको संचालन मुनाफामा समेत उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड २० लाख रुपैयाँमा सीमित यस्तो मुनाफा बढेर समीक्षा अवधिमा ७ करोड ७७ लाख पुगेको छ । यसरी संचालन मुनाफातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा १४२.६३ प्रतिशतको छलाङ मारेको हो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो तीन महिनासम्म २६ करोड ६४ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ३६ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म ६५ करोड ९५ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढेर ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने निक्षेप र कर्जातर्फ पनि बैंकको प्रगति भएको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म सांग्रिला बैंकले ३२ अर्ब बढी निक्षेप संकलन गरी २६ अर्ब ४१ करोड बढी कर्जा प्रवाह गरेको थियो । समीक्षा अवधिमा ४७ अर्ब ४० करोड निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा ४ रुपैयाँ ८४ पैसामात्र थियो ।