Welcome to the complete news site

सर्वोच्चमा आज पनि धर्ना, चोलेन्द्रले मागे ‘ग्रेसफूल एक्जिट’

0 14

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।

आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरुले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेका थिए । केही दिनदेखि बेञ्च बहिस्कार गर्दै आएका न्यायाधीशहरुले आइतबार बैठक बसेर प्रधानन्यायाधीशले राजनीनामा दिनैपर्ने निश्कर्ष निकालेका थिए । यसकमा लागि प्रधानन्यायाधीशसँग सम्वाद गर्ने निर्णयसमेत न्यायाधीशहरुको आइतबारको बैठकले गरेको थियो । सो निर्णय अनुसार सोमबार प्रधानन्यायधीशसँग छलफल गर्ने न्यायाधीशहरुले बताएका छन् ।

यसैबीच आइतबार न्यायाधीशहरुको बैठकपछि केही न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग भेट गरेका थिए । त्यसक्रममा प्रधानन्यायाधीशले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) का लागि तयार रहेको सन्देश दिएको न्यायाधीशसमक्ष रिपोर्टिङ भएको स्रोतले बतायो । जबराले तत्काल राजीनामा नदिने तर केही महिनापछि राजीस्नामा दिएर निकास दिने प्रस्ताव अगाडि सारेको न्यायाधीशहरुको बुझाइ छ ।

यसैबीच, बार र बेञ्चको विवादकै कारण सोमबार निर्णय सुनाउने भनिएको बालुवाटार जग्गा प्रकरणसम्बन्धी माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथिको निर्णय प्रक्रिया अघि बढेन । तर, सोमबारदेखि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनमाथिको सुनुवाई भने खुल्ला भएको छ ।