सरस्वती प्रधानद्वारा पनि रुपा सुनारलाई कारबाही गर्न माग
जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको दावी गरेकी छिन् । उनले षड्यन्त्रमुलक तरिकाले आफूलाई फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छिन् ।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् ।
उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् । असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुलेआम आवत् जावत् गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको ।रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहपूर्वक थुनाएको ।’
यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छिन् । घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफुलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छिन् । आफुलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ ।
सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तिनदिन हिरासत बसेर प्रधान छुटेकी थिइन् । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छिन् ।