सप्तरंग’मा उषाको धमाका
२६ मंसिर, काठमाडौं । मोडल उषा उप्रेती गृष्मा ब्रोडकाष्टिङले आयोजना गरेको ‘सप्तरंग’का लागि यतिबेला देश दौडाहमा छिन् । उषाले पहिलो पटक कुनै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएकाले पनि उनका लागि यो कार्यक्रम विशेष छ ।
हुन त, यो कार्यक्रममा नायक राजेश हमालदेखि गायक प्रमोद खरेल, बद्री पंगेनी, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार, अस्मिता अधिकारी पनि सहभागी छन् ।
महोत्सवमा सहभागी हुन पुगेकी मोडल उषा उप्रेतीले पूर्वको काँकडभिट्टामा धमाकेदार प्रस्तुति दिएकी छन् । स्टेजमा दुई पटक चढेकी उषाले पुराना नेपाली चलचित्रको गीतमा पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । यस्तै उनले नेपाली चलचित्रका र आफ्ना केही हिट गीतमा पनि प्रस्तुति दिइन् । दर्शकले आफ्नो प्रस्तुति मन पराएपछि उषा दंग छिन् ।
‘नेपालका चर्चित कलाकर्मीको साथमा पहिलो पटक स्टेज शेयर गर्न पाउँदा खुशी लागेको छ । दर्शकले पनि प्रस्तुतिलाई मन पराइदिनुभएको छ,’ उनले भनिन् ।
काँकडभिट्टापछि आइतबार जनकपुरमा ‘सप्तरंग’ आयोजना हुँदैछ । टिकटकबाट चर्चामा आएर नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी उषा अहिलेकी व्यस्त मोडल हुन् ।