Welcome to the complete news site

श्रमजीवी पत्रकारलाई कामवाट नहटाउन,पारिश्रमिक दिन र वेतलवी विदामा नराख्न महासंघको अाग्रह

0 26

पाेखरा। ६ असार २०७८, आईतवार नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई कामवाट नहटाउन,पारिश्रमिक दिन र वेतलवी विदामा नराख्न संचारगृहहरुलाई अाग्रह गरेको छ।

काेराेना संक्रमणलाई वाहाना वनाउँदै केही संचारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने ,पारिश्रमिक नदिने,पारिश्रमिक घटाउने र वेतलवी विदा दिनेजस्ता क्रियाकलाप बढेकाे भन्दै महासंघले अाइतवार प्रेस विज्ञप्ति जारी गरेर यस्ता कार्य तत्काल राेक्न अाग्रह गरेको हाे ।

यस्तो छ पत्रकार महासंघले जारी गरेको प्रेस विज्ञप्ति:

दोस्रो लहरको कोरोना संक्रमण दर वृद्धि भएसँगै श्रमजीवी पत्रकारका श्रम समस्या बढ्न थालेको छ । कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न यो कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने महासंघको ठहर छ । यो विषम अवस्थामा महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न आग्रह गर्दछ ।

साथै, संक्रमणको जोखिम मोलेर अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोकेअनुसारको सेवा–सुविधा प्रदान गर्न गराउन महासंघ सम्बन्धित पक्षसँग आग्रह गर्दछ । अन्यथा महासंघ यसका लागि कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने प्रष्ट पार्न चाहन्छ ।

श्रमजीवी पत्रकार ऐन र श्रमसम्बन्धी कानुन कार्यावन्यन गर्ने दायित्व सरकारको भएकोले ऐन कार्यान्वयनमा गम्भीर बन्न र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारी सेवा–सुविधाबाट बञ्चित गर्न तथा श्रम समस्याका विषयमा तत्काल अनुगमन गर्न महासंघ सरकारको पनि ध्यानाकर्षण गराउँदछ ।

श्रमजीवी पत्रकारले भोगेका समस्याका बारेमा औपचारिक र अनौपचारिक जानकारी गराउन महासंघ सम्पूर्ण श्रमजीवीमा अपिल गर्दछ । श्रम समस्याका विषयमा वार्ता र संवादको माध्यमबाट सहजीकरण गर्न महासंघ तयार रहेको प्रष्ट पार्दछ ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले २०७८ असार ७ गते सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ । सो अनुगमनपश्चात अनुगमन समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने जानकारी गराइन्छ ।

रोसन पुरी

महासचिव