शिव र भुवनको एउटै बोली- ‘गौरी मल्ल महानायिका
नेपाली फिल्म इन्डस्ट्रीमा कलाकारलाई दिइने पदवीले बेला-बखतमा ठूलै हलचल ल्याउने गरेको छ । वर्षौं अगाडि नेपाल चलचित्र प्राविधिक संघले आफ्नो अवार्ड समारोहमा सुपरस्टार राजेश हमाललाई ‘महानायक’ को उपाधि दियो । तर, उनी यो उपाधिको हकदार नभएको भन्दै लामो समयदेखि बहस हुँदै आएको छ । दर्शकको ठूलो जमातले भने उनलाई ‘महानायक’ मान्ने गरेको छ ।
गत वर्ष एक प्राइभेट संस्थाले राजेश हमाललाई साक्षी राखेर अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ घोषित गर्यो । उनलाई यो उपाधि दिएकोमा पनि फिल्म इन्डस्ट्री दुई कित्तामा बाँडिएको छ । कसैले उनी यो उपाधिको हकदार रहेको बताएका छन् भने कसैले ‘महानायिका’ को उपाधि पाउने काम उनले नगरेको टिप्पणी गरेका छन् । यस विषयमा दर्शकको बोली पनि एउटै छैन ।
आइतवार फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक कार्यक्रममा अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले पनि राजेश हमाल र करिश्मा मानन्धरलाई ‘महानायक र महानायिका’ स्वीकार गरेनन् । बरु, दुवैले समकालीन अभिनेत्री गौरी मल्ललाई ‘महानायिका’ घोषित गरे । अहिलेसम्म उनी जस्तो अभिनयमा डुब्न सक्ने अभिनेत्री नभएको उनीहरुको भनाई थियो ।
गौरी मल्ललाई ‘महानायिका’ भन्नुको कारणबारे प्रस्ट्याउँदै भुवनले कार्यक्रममा भने- ‘म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल नेपाली फिल्मको रियल ‘महानायिका’ र अभिनयको ‘महारानी’ हो । अब आउने कति पीढि उहाँको अभिनयको तुलनामा आउन सक्दैन ।’ ‘डाँडाको वरपीपल’ फिल्ममा आफूले सानो भूमिका भए पनि काम गर्न तयार हुनुको एउटा कारण गौरी मल्ल रहेको उनले बताए ।
उनले शिव श्रेष्ठलाई पनि ‘महानायक’ घोषित गर्न भ्याए । ‘उहाँ (शिव श्रेष्ठ) ले पास्किस्तान थर्काएर नेपाललाई चिनाउनु भएको छ । उहाँले इन्डस्ट्रीलाई ठूलो योदान गर्नुभएको छ । उहाँसँग लामो समयपछि काम गर्न पाउँदा एकदमै गर्व महशुस भएको छ,’ भुवनले भने । कार्यक्रममा फिल्मका निर्देशक शोभित बस्नेतले भने नेपालको एक मात्र असली ‘महानायक’ भुवन केसी रहेको दाबी गरे ।
भुवन केसीपछि आफ्नो भनाई राख्नका लागि माइक समातेका शिव श्रेष्ठले गौरी मल्ल आफूहरुको ‘पाठशाला’ रहेको बताए । उनले भने- ‘गौरी मल्लबाट हामीले सिक्नुपर्छ । उहाँले हामीलाई फिल्मको सेटमा धेरै सिकाउनु भएको छ । म उहाँलाई ‘महानायिका’ घोषित गर्छु ।’ करिश्मा मानन्धर ‘ड्रिम गर्ल’ रहेको तर आफ्नो नजरमा असली ‘महानायिका’ गौरी मल्ल रहेको उनको भनाई छ ।
गौरी मल्लले भने नेपालमा यसप्रकारका उपाधिको कुनै औचित्य नै नभएको बताइन् । आफूलाई उपाधि नभइ काम दिन उनको आग्रह छ । ‘मलाई उपाधिको लोभ छैन । हामी श्रमजीवी हौं । हामीलाई श्रम गर्ने मौका दिनुपर्छ । यस्तो शृंगार-अलंकारको पछाडि नलागौं,’ उनले आग्रह गरिन् । जसलाई जे उपाधि दिए पनि कागलाई हेलमेट लगाएको जस्तो चाहिँ हुनु नहुने उनको भनाई छ ।