काठमाडौं । झरना थापाद्वारा निर्देशित चलचित्र एक भगवत् गीता प्रदर्शन अगावै विवादित बनेको छ । धार्मिक ग्रन्थ श्रीमद्भागवत गीताको नाम राखेर यसको मर्म विपरीत कथावस्तु देखाउन खोजिएको भन्दै विभिन्न धार्मिक संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।
‘श्रीमद्भागवत गीता’ नाम राखेर चलचित्र विकास बोर्डबाट अनुमति लिई निर्माण सुरु गरेका निर्माता सुनिल थापा र निर्देशक झरना थापालाई ७ महिना अगवावै यस विषयमा सचेत गराइएको थियो । तर अटेरी गर्दै चलचित्र निर्माण गरिएको र अन्ततः प्रदर्शन गर्ने तयारी समेत गरिसकेपछि यो झनै विवादित बनेको हो ।
चलचित्र बिकास बोर्डमा चलचित्र विकास बोर्ड, निर्माता संघ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सदस्य–सचिव, सो चलचित्रका निर्माता/निर्देशक, विभिन्न धार्मिक संघ सस्थाका प्रतिनिधि लगायतको बैठकमा धार्मिक संघसंस्था तथा सरोकारवालो आपत्ति जनाएका हुन् ।
हिन्दुजागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले बारम्बार आफूहरूले यस विषयमा सबै निकायको ध्यानाकर्षण गराएको भएपनि जबरजस्ती आफूहरूको धार्मिक ग्रन्थलाई एउटा कथावस्तु मात्र बनाईएको बताए । ‘बारम्बार हामीले यस विषयमा विकास बोर्ड, सेन्सार बोर्ड र यस चलचित्रका निर्देशक/निर्मातालाई समेत सचेत गराएका थियौं’, उनले भने, ‘तर जबरजस्ती हाम्रो धार्मिक ग्रन्थलाई एउटा कथावस्तु मात्र बनाइयो, जून यसको यथार्थसँग छेउटुप्पो मेल खाँदैन । यसले समाजमा नकारात्मक प्राभाव पार्छ, भ्रम सृजना गर्छ ।’
अध्यक्ष उपाध्यायले गीता ज्ञानको भन्डार भएपनि व्यवसायिक प्रयोजनको लागि यसलाई तोड्मोड गर्ने अधिकार कसैलाई नहुने बताए । उनी भन्छन्, ‘श्रीमद्भागवत गीता ज्ञानको भन्डार हो, यसलाई व्यवसायीक प्रयोजनको लागि यथार्थलाई तोड्मोड गर्ने र गलत सन्देश प्रवाह गर्ने अधिकार कसैलाई छैन ।’
त्यस्तै विश्व हिन्दु युवा संघका अध्यक्ष सागर थापाले अन्तर्जातिय प्रेम कथा देखाएर श्रीमद्भागवत गीताको धज्जी उडाएको टिप्पणी गरे । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं नाम एक, कथावस्तु अर्कै राखेर निर्माण पक्षबाट गल्ती भएको छ’, उनले भने, ‘पछिल्लो समय विभिन्न बहनामा सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको छ । र यस चलचित्रले पनि हाम्रो पवित्र ग्रन्थको अपब्याख्या गरेकोले नाम सच्याएर मात्र गर्नुपर्ने भन्दै यसो नगरिए आफुहरु प्रतिकारमा उत्रने चेतावनी समेत दिए ।
शिवसेना नेपालकी केन्द्रीय सचिव सृजना वाग्लेले चलचित्र निर्माण हुनु अगाडि नै आफूहरूले सचेत गराएको स्मरण गराउँदै ‘भगवत् गीता’मा ‘भगवत’को रुपमा पुरुष पात्र र ‘गीता’को रुपमा नारीलाई चित्रण गरिएकोमा आपत्ति जनाइन् । उनले भनिन्, ‘श्रीमद्भागवत गीता कोही व्यक्ति विशेषको नाम वा पात्र नभएर समग्र ज्ञानको भन्डार हो । त्यसैले यस चलचित्रले समाजमा धार्मिक ग्रन्थ श्रीमद्भागवत गीताले दिने सन्देशभन्दा फरक हुने भएकाले नाम सच्याउन आग्रह गरिन् । यस चलचित्रसँग हाम्रो कुनै आपत्ति होइन । तर नाम अनुसारको कथावस्तु प्रस्तुत नभएको र गीतामा जातीयता र प्रेमकथाको वर्णन कहीँ कतै नगरिएकोले चलचित्रको नाम नाम सच्याउनैपर्छ । लगानी धेरै भइसकेकोले हामी कथा नै परिवर्तन गर्नुस् त भन्न सक्दैनौं । तर नामले गलत अर्थ लाग्ने भयो सच्याउनुस्, अन्यथा घाटा तपाईंहरुलाई नै हो, तपाईंको करियरलाई नै हो’, उनले भनिन् ।
यता चलचित्र निर्देशक झरना थापाले भने धार्मिक संघसंस्थाको सुझाव अनुसार कथावस्तु परिवर्तन गरेको दाबी गरेकी छन् । उनी भन्छिन्, ‘हामी पनि कृष्णभक्त हौं, श्रीमद्भागवत गीताको एउटा पार्ट देखाउन खोजेका हौं, ठुलो लागनी परिसकेको छ, एकपटक हेरिदिनुस् अनि गलत लाग्यो भने हामी चेन्ज गर्छौ ।’
त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि फ्लिम निर्माण अगाडी नै यो विषय जानकारी गराएको र उनले सोही अनुरुप चलचित्र निर्माण भएको भनेपछि थप सोधपुछ नगरेको बताए । उनले कसैको धर्ममा आँच आउने, सामाजिक सद्भाव बिथोल्ने र भ्रम फैलाउने कुनै पनि सामाग्री कसैले नदेखाउन समेत सबैलाई सचेत गराए ।
त्यस्तै चलचित्र बिकास बोर्डका सदस्य सचिव पनि पछिल्लो समय नेपाली चलचित्र क्षेत्र धरासायी बन्दै गएकाले लगानीलाई निरुत्साहित गर्न नहुने बताउछन् । तर व्यावसायिक प्रयोजनकै लागि मात्र समाजमा भ्रम सिर्जना गर्ने कथावस्तु लैजान नहुने उनको धारणा छ ।