वर्किङ भिसामा युरोप पठाइदिने भन्दै एक करोडबढी ठगी गर्ने पक्राउ
२०७८ असार १७ वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिसामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् ।
रेग्मीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिसामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिएका थिए । र, उनीहरूलाई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई फरार रहेका रेग्मीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।