Welcome to the complete news site

लकडाउन खुकुलो भए सँगै एक महिनायताकै उच्च संक्रमित गण्डकीमा

0 74

पोखरा । लकडाउन खुकुलोसँगै जनजीवन सहज बन्दै गए पनि गण्डकी प्रदेशमा कोरोना जोखिम कायमै छ । परीक्षण गरिएकामा मध्ये झण्डै आधामा संक्रमण देखिने गरेको छ । गण्डकीमा बिहीबार १ हजार ३२ जनाको नमुना परीक्षण भएकोमा करिब ४६ प्रतिशत अर्थात् ४ सय ७१ जनामा कोभिड–१९ पुष्टि भएको हो । यो संख्या एक महिनायताकै सबैभन्दा उच्च हो । यसअघि गत असार ८ मा प्रदेशमा ४ सय ८० जनामा संक्रमण देखिएको थियो । त्यस दिन भएको १ हजार ७ सय ९६ परीक्षणमा कुल संक्रमित करिब २७ प्रतिशत हुन आउँछ । त्यसको तुलनामा बिहीबार देखा परेको संक्रमण दर हेर्दा थप सचेतना अपनाउनुपर्ने हुन्छ । गत साउन ५ मा पनि परीक्षण तुलनामा संक्रमित धेरै देखा परेका थिए । त्यसदिन १२ सय नमुना परीक्षणमा ४ सय ३८ मा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयल जनाएको छ । एक महिना अवधिमा सबैभन्दा कम असार २६ मा मात्र १ सय २५ मा संक्रमण भेटिएको थियो । त्यस दिन ८ सय ८८ को नमुना परीक्षण भएको थियो । प्रदेशका ११ जिल्लामध्ये बिहीबार कास्कीमा मात्रै २ सय ७४ जनामा संक्रमण देखा परेको छ । तीमध्ये १ सय ३९ पुरुष र १ सय ३५ महिला हुन् । कास्कीमा सक्रिय संक्रमित संख्या अझै पनि हजार माथि छ । जिल्लामा १ हजार २ सय ६८ जना सक्रिय संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीपछि सबैभन्दा बढी नवलपुरमा ५७ र गोरखामा ३९ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, तनहुँका ३४, बागलुङका ३१, स्याङ्जाका २१, म्याग्दीका ७, पर्वतका ५ र लमजुङका ३ जनामा संक्रमण देखा परेको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा संक्रमण शून्य छ । यसैगरी, गएको २४ घण्टामा प्रदेशमा ६ सय ५५ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।