राष्ट्रसंघको प्रतिवेदन भन्छ–डेल्टा भेरियन्टका कारण भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्यु
कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पु¥याउन सक्ने चेतावनी दिएको छ । ‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ । कोभिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दिगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ ।