रामोस पीएसजीमा अनुबन्ध नजिक
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् ।
पीएसजीले ३५ वर्षीय सेन्टरब्याक रामोसलाई २ वर्षको लागि सम्झौता गर्ने बुझिएको छ । उनलाई वार्षिक १० मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको बुझिएको छ । सम्झौता अनुसार उनी २०२३ सम्म पीएसजीमा रहनेछन् । उनको यसै साता मेडिकलसँगै क्लबमा सार्वजनिक गर्ने पीएसजीले योजना बनाएको छ । थियागो सिल्भाको प्रस्थानपछि केहि कमजोर बनेको पिएसजीको डिफेन्स रामोसको आगमनले मजबुत हुने अपेक्षा गरिएको छ ।
मंगलबार मेडिकल हुने र बुधबार आधिकारिक रुपमा सार्वजनिक गरिने कार्यक्रम तय भएको विभिन्न सञ्चारमाध्यममा उल्लेख छ । यो समरमा खेलाडी सरुवा बजारमा आक्रामक देखिएको पीएसजीले रामोससँगै मोरोक्कोका डिफेन्डर अचरफ हाकिमी र इटालियन गोलरक्षक जियानलुइजी डोन्नररुम्मालाई पनि अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।
रियलले पीएसजीकै फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाएको छ । पीएसजी र रियल नै एमबाप्पेको व्यक्तिगत निर्णयको प्रतिक्षामा छन् । रियलले नयाँ प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा सोमबारदेखि नै प्रशिक्षण सुरु गरिसकेको छ ।
रियलमा फ्रान्सेली रक्षक राफाएल भारानको भविष्य पनि अनिश्चित बन्दा उनलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ४५ मिलियन युरो खर्चने तयारी गरिरहेको छ । रियलले ६० मिलियन युरो माग गरिरहेको छ । रियलका अर्काे मिडफिल्डर इस्कोले पनि क्लब छाड्ने योजना बनाउँदा उनलाई इटालियन क्लब एसी मिलानले चासो देखाइरहेको छ ।