Welcome to the complete news site

युरोको सर्वाेत्कृष्ट खेलाडी पीएसजीमा अनुबन्धित

0 29

एजेन्सी – युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।


पीएसजीले सिरी ‘ए’ क्लब एसी मिलानका २२ वर्षीय युवा गोलरक्षक डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । उनको सम्झौता अनुसार उनी २०२६ जुनसम्म उनी पीएसजीमा रहनेछ । सम्झौता अनुसार डोन्नररुम्माले वार्षिक १० मिलियन पाउन्ड र थप बोनस पाउनेछन् ।

‘म पीएसजी जस्तो ठुलो क्लमका सहभागी हुन पाउँदा धेरै खुशी छु ।’ डोन्नररुम्माले पीएसजीको आधिकारिक वेभसाइटमा भने, ‘म यो नयाँ चुनौती लिन तयार छु । आफ्ना प्रदर्शनलाई थप सुधार जारी राख्नेछु । म सकेसम्म जित्न चहान्छु र समर्थकहरुमा खुशी छर्न चहान्छु ।’

यो सिजन पीएसजीमा अनुबन्ध हुने उनी चौथो खेलाडी हुन् । यो सिजन ट्रान्सफरमा आक्रामक देखिएको पीएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ टोली तयार पारिरहेको छ ।

पीएसजीले यो सिजन जर्जिन्हो वाइनाल्डम, अचरफ हाकिमी र सर्जियो रामोसलाई अनुबन्ध गरिसकेको छ । पीएसजीले डोन्नररुम्मासँगै वाइनाल्डम र रामोसलाई फ्रि ट्रान्सफरमा टोलीमा भित्र्याउन सफल भएको हो । पीएसजीमा नेयमार, केलियन एमबाप्पेलगायतका विश्वस्तरीय खेलाडीको साथ रहेको छ ।

युरोपेली च्याम्पियनसिपमा समुह चरणमा वेल्सलाई १–० ले हराएपछि उनी पीएसजीको मेडिकलको लागि रोमस्थित सान्ट एन्ड्रिया अस्पताल पुगेका थिए । मेडिकल भएपनि अन्य केही प्रक्रियाहरु बाँकी रहँदा झन्डै २५ दिनपछि मात्रै पीएसजीले उनलाई सार्वजनिक गरेको हो ।

डोन्नररुम्माले ९ वर्षपछि मिलान छाडेका हुन् । उनी १४ वर्षको उमेरमा मिलान आएका थिए । उनले २०१५ मा एसी मिलानको सिनियर टोलीमा डेब्यु गर्दा उनी मात्रै १६ वर्षका थिए । डोन्नररुम्माले मिलानबाट २५१ खेल खेलिसकेका छन् । इटालीको भेट्रान गोलरक्षक जियानलुइगी बुफोनपछि उनले लगातार पहिलो रोजाईमा खेलिरहेका छन् ।

इटालीलाई ५३ वर्षपछि युरोको च्याम्पियन बनाउन गोलरक्षक डोन्नररुम्माले उच्च प्रदर्शन गरेका थिए । उनले फाइनलमा पेनाल्टी सुुटआउटमा इंग्ल्यान्डको अन्तिम दुई पेनाल्टी बचाउँदै इटालीलाई ३–२ को जितसहित च्याम्पिउयन बनाएका थिए । त्यसअघि स्पेनविरुद्धको सेमिफाइनलमा पनि डोन्नररुम्मा पेनाल्टीमा नायक बनेका थिए ।

पीएसजीमा डोन्नररुम्माको आगमनसँगै प्रशिक्षक मौरिसियो पोचेटिनोले केलर नाभास र सर्जियो रिकोलाई कसरी प्रयोग गर्छ भन्ने कौतुहलताको विषय बनेको छ । पछिल्लो समय पीएसजीमा केलर नाभासले पहिलो रोजाईमा खेलिरहेका छन् । मिलान र डोन्नररुम्माबीच नयाँ सम्झौताको लागि छलफल भएपनि डोन्नररुम्माले क्लब छाड्ने मनासय बनाइसकेका थिए ।

मिलानका निर्देशक पाओलो माल्दिनीले गत महिना डोन्नररुम्माले क्लब छाड्ने पुष्टि गरेका थिए । ‘मलाई लाग्छ कि हामीले सबै खेलाडीलाई धन्यवाद दिनुपर्दछ । जसले यो सिजनलाई अविश्वनीय बनाए । जियो हाम्रो कप्तान थिए ।’ माल्दिनीले मिलान टीभीलाई भने, ‘व्यवसायिक बन्नको लागि मानिषहरु संघर्ष गर्दछन् । र क्लब परिवर्तन गर्न पनि तयार हुनुपर्दछ । मलाई थाहा छ । यो स्वीकार्न गाह्रो हुनेछ । तर करियर एकै ठाउँमा शुरु गरेर एकै ठाउँमा अन्त्य गर्न गाह्रो हुन्छ ।’

यस्तै निर्देशक माल्दिनीले खेलाडीलाई आदर गर्नैपर्ने र अब शुभकामना दिने बाहेक विकल्प नरहेको बताएका थिए । मिलानले डोन्नररुम्माको स्थानमा फ्रेन्च क्लब लिलका मिक मेइगनानलाई १३ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।