Welcome to the complete news site

मेस्सीद्वारा मार्टिनेजको प्रशंसा

0 155

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०२१ को सेमिफाइनलमा कोलोम्बियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा मार्टिनेजले कोलोम्बियाको तीन प्रहार विफल पारेका थिए । उनकै प्रदर्शनमा अर्जेन्टिनाले ३-२ को जित हासिल गर्न सफल भयो । अर्जेन्टिनाका लागि लिओनेल मेस्सी, लिआन्द्रो पारेडेस र लाउटारो मार्टिनेजले गोल गर्दा रोड्रीगो डे पल चुके । कोलोम्बियाका जुआन क्वाडराडो र मिगुएल बोर्जाले गोल गर्दा डाभीन्सन सान्चेज, येरी मिना र एडविन कार्डोनाको प्रहार गोलरक्षक मार्टिनेजले बचाएका थिए ।

कप्तान मेस्सीले खेलपछि बोल्दै गोलरक्षकमा आफ्नो टोलीले सधैं विश्वास गरेको अभिव्यक्ति दिए । ‘हामीसँग एमी (मार्टिनेज) छन् जो उत्कृष्ट छन्,’ मेस्सीले भने, ‘हामीले उनीमाथि विश्वास राखेका थियौं । उनले त्यसै अनुसार खेले । हाम्रो लक्ष्य सबै खेलमा उच्च प्रदर्शन गर्दै फाइनल पुग्ने थियो र त्यसमा हामी सफल भएका छौं ।’

मार्टिनेजले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट यसै वर्ष डेब्यु गरेका हुन् । प्रिमियर लिग क्लब एस्टन भिल्लामा उच्च प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए । त्यसअघि आर्सनलमा लामो समय रहेपनि उनले अवसर पाएका थिएनन् । उनले लोनमा अन्यत्र भने केहि खेल खेलेका थिए ।

मेस्सीले सामाजिक संजालमा पनि मार्टिनेजलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । अर्जेन्टिनाले अब शनिबार हुने फाइनलमा ब्राजिलको सामना गर्नेछ । मेस्सी अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्नबाट अब मात्र एक जित टाढा रहेका छन् ।