Welcome to the complete news site

मास्क नलगाउने १३ सय कारबाहीमा

0 8

पोखरा । कोरोना नियन्त्रणका लागि गएको ६ जेठमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश राजपत्रमा प्रकाशित ग¥यो । जतिबेलामा कोरोनाको दोस्रो भेरियन्ट आक्रामक रुपमा फैलँदै थियो । अध्यादेशमा भएका कारबाहीसम्बन्धी व्यवस्थाले लापरबाही गर्नेलाई ठाउँको ठाउँ जरिवाना तिर्नुपर्ने भयो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान नमान्नेलाई कडा कारबाही हुने भएको छ । कोरोना महामारी नियन्त्रण, निदान, उपचार लगायतका काममा बाधा पुग्ने काम कसैले गरेमा सरकारले १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमार्फत व्यवस्था गरेको छ । यसैगरी यो अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगर्नेलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस अध्यादेशबमोजिम सरकारले दिएको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छन् । कुनै संस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना हुन्छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा सुरक्षाकर्मीले पटकैपिच्छे १ सय रुपैयाँ, आवतजावत रोक लगाइएको स्थानमा हिँडडुल गरेमा पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना हुन्छ । अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई २ पांग्रे सवारी साधन चलाएमा २ हजार रुपैयाँ र अन्य सवारी साधन चलाएमा ५ हजार रुपैयाँ जरिवाना हुनेछ । बिरामी ओसारपसार गर्ने काममा भने जरिवाना हुनेछैन । अध्यादेश ल्याएपछि कार्यान्वयन नहुँदै कोरोना संक्रमितभन्दा निको हुने बढ्दै गयो । त्यसपछि गरिरहेको लकडाउन लुज लकडाउन स्मार्ट लकडाउनको नाममा खुकुलो बनाउँदै गयो । खुकुलो लकडाउनकै कारण कोरोनाका संक्रमित बढ्न थालेका छन् । कोरोनाको डेल्टा भेरियन्ट पनि देखापरिसकेको छ । पछिल्ला दिनमा गण्डकी प्रदेशको राजधानी कास्कीमा पनि दिन २ गुना रात ४ गुनाको दरमा संक्रमित बढिरहेका छन् । कास्कीमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिएका छन् । बढ्दै गएको कोरोना नियन्त्रणका लागि कास्कीमा सप्ताहव्यापी कार्यक्रम भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने १ हजार ३ सय ३७ जनालाई कारबाही गरिएको छ । उनीहरुबाट १ लाख ३३ हजार ७ सय जरिवाना संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । १ हप्तामा ६ हजार ७ सय १७ जनालाई सम्झाई बुझाई छाडिएको छ । सचेतनाका लागि सवारी चालकका लागि पर्चा पनि वितरण गरिएको थियो । साताभर ५ हजार ९ सय २६ पर्चा बाँडिएको थियो । शनिबारसम्म चलेको अभियानमा ७ हजार ७ सय १४ सवारी साधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको थियो । प्रवक्ता हमालका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित १ हजार ९ सय ५८ मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । कोभिड को संक्रमण जोखिम बढ्दै गइरहेको वर्तमान अवस्थामा न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्न, अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोग गर्नका लागि माइकिङ गर्दै जाने उनको भनाइ थियो । अझै केही दिन सचेतनाका अभियान चलाउने र कार्यालयमा रहेका मौज्जुदा मास्क वितरण गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको योजना रहेको छ । कोरोना बढ्दै गरेको अवस्थामा सिधै कारबाही र जरिवाना लिन पाउने अधिकार प्रहरीलाई दिने व्यवस्था अध्यादेशमा भएपछि सहज भएको उनको भनाइ थियो ।