Welcome to the complete news site

माथिल्लो मादीबाट विद्युत् उत्पादन सुचारु

0 22

पोखरा । माथिल्लो मादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । विद्युत् उत्पादन बिहीबार साँझबाट अस्थायी रुपमा सुरु गरिएको मादी पावर प्रालिका बिजनेस सुपरभाइजर गंगादत्त सापकोटाले जानकारी दिए । कास्कीको मादी गाउँपालिका वडा ६ र ७ स्थित २५ मेगावाट क्षमताको सो आयोजना गत ३१ जेठमा मादीमा आएको बाढीले भौतिक संरचनामा क्षति पुगेपछि उत्पादन बन्द भएको थियो । बाढीले आयोजनाको बाँध क्षेत्रका संरचना, आयोजनासम्म आवतजावत गर्ने बाटा, ११ केभी आन्तरिक विद्युत प्रसारण, पावरहाउसको आउटलेट लगायत संरचनामा क्षति पु¥याएको थियो । बाढीले मादी गाउँपालिकाअन्तर्गतकै १५ मेगावाटको सिक्लेस हाइड्रोपावर, निर्माणाधीन सुपर मादी हाइड्रोपावर र १२ मेगावाटको नामार्जुङ हाइड्रोपावरमा क्षति पुर्‍याएको थियो ।
आयोजनाका कर्मचारी कम्पनीको आवासगृहमा बस्न असुरक्षित भएकाले केही समयका लागि सम्पूर्ण कर्मचारी पोखरा लेकसाइडको होटल सिटी पार्क र स्प्रिङ होटमा बस्ने व्यवस्था मिलाइएको सापकोटाले जानकारी दिए । बाढीले क्षति पुर्‍याएका भौतिक संरचनालाई यथावत राखी अस्थायीरुपमा विद्युत उत्पादन सुचारु गरिएको सूचना अधिकृत हाना राईले जानकारी दिए । उनका अनुसार बाढीले मादी पावरको ३८ करोड बराबरको भौतिक क्षति पुर्‍याएको थियो । मादी पावर प्रालिको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सरकारी तथा गैरसरकारी संघ संस्था तथा कम्पनीका कर्मचारीप्रति कम्पनी प्रशासनले आभार व्यक्त गरेको छ । मादी पावर प्रालिमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिकको ८० प्रतिशत र नेपाली लगानीकर्ता विजयबाबु मल्लको २० प्रतिशत लगानी रहेको कम्पनीका बिजनेस मेनेजर रामराज कोइरालाले बताए ।