महिला पर्यटन व्यवसायीको योग शिविर सम्पन्न
पोखरा ,असार १९
महिला पर्यटन व्यवसायी मञ्च ओटेफले संस्थाका सदस्यहरुको मानसिक एवम् शारीरिक स्फूर्तिका लागि आयोजना गरेको १५ दिने योग शिविर समापन भएको छ । पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायी महिलाहरुको संस्था ओटेफले कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा यसबाट सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर १५ दिने योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्वती पाण्डेले जानकारी दिनुभयो ।
स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योग शिविर यसको महत्वलाई उजागार गरेको बताउनुभयो । उहाँका अनुसार हरेक दिन बिहान साढे पाँचबजेबाट सातबजेसम्मको समयमा भर्चुअल माध्यमबाट योग गुरु दुर्गादेवी सुवेदीले योग साधनाको अभ्यास गराउनुभएको थियो । योग गुरु सुवेदीले व्यवसायको क्षेत्रमा सक्रिय महिलाहरुले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै दैनिक जीवनमा योगाभ्यास गर्नसके तन मन र मष्तिस्कलाई स्वस्थ राख्न सकिने बताउनुभयो ।
समापन कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भटटराईले कोरोना महामारीबाट सिर्जित अवस्थाले धेरै पर्यटनव्यवसायीलाई मानसिक तनाव निम्त्याइरहेको जनाउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औल्याउनु भयो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन सहयोग पुर्याउने बताउनुभयो ।