ललितपुरको इजी फर्माका फर्मासिस्ष्ट मेनकुमार घोराथोकीले विगत एक सातादेखि सिटामोल बिक्री गर्न पाएका छैनन् । कोरोना सङ्क्रमण बढिरहेका कारण धेरै उपभोक्ता सिटामोल खोज्दै आउने गरेका छन् । औषधीको होलसेल बिक्रेतासँग पनि सिटामोल नभएको उनले बताए । घोराथोकीले भने–‘हामीले खरिद गर्ने होलसेलमा पनि कम्पनीबाटै सिटामोल नआएको भन्ने गरेका छन् । एकसातादेखि सिटामोल बिक्री गर्न पाएका छैनौँ ।’ सिटामोल नभएकोले डाक्टरले सिफारिस गरेको आधारमा सिटामोल मिक्स भएको अन्य औषधी वितरण गरेको उनले बताए । यता वीर अस्पताल छेउ रहेको आरएफ फार्मेसीका नागार्जुन अधिकारीले हिजोसम्म अस्पतालमा भर्ना भएर इर्मरजेन्सीमा रहेकालाई मात्र जेनतेन सिटामोल दिएको बताए । बिहीबार नेश्नल हेल्थ केयर कम्पनीले एक हजार ट्याब्लेट सिटामोल पठाइदिएकोले केही सहज भएको बताए । सिटामोल खरिदका लागि आउनेलाई दश–दश ट्याब्लेटका दरले बिक्री गर्न सो कम्पनीले भनेको उनले सुनाए । एक हप्ता सिटामोलको अभाव भएका कारण बाहिरका अन्य मेडिकलबाट सिटामोल खरिद गरेर इर्मरजेन्सीका बिरामीमात्र विक्री गरेको बताए । अर्को एक मेडिकलका औषधी बिक्रेता दुर्गाचन्द्र मौरठीले कम्पनीले सिटामोल नदिएका कारण अभाव भएको बताए । उनले भने–‘औषधी उत्पादक कम्पनीले सामान भएर दिएको हो वा नभएर दिएको हो थाहा भएन, अहिले बजारमा सिटामोल छैन, भएको पनि अत्यन्तै कम मात्रामा छ ।’ होलसेल तथा वितरकले अहिले सिटामोल छैन, पछि आएपछि खबर गर्छाैँ भनेर सुनाएको उनले बताए । सिटामोल उत्पादक कम्पनी नेश्नल हेल्थ केयरले अस्पताल आसपास रहेका औषधी पसलमा बिहीबार १ हजार ट्याब्लेट सिटामोल बिक्री गरेको वीर अस्पताल छेउ रहेको एक मेडिकल सञ्चालक अमृत बरालले बताए । उनले झन्डै २ हप्ता सिटामोलको अभाव झेल्नुपरेको उनले बताए । उनले अबको केही दिनपछि सिटामोल सहज रूपमा पाइने आशा व्यक्त गरे । बिहीबार बिहान नेश्नल हेल्थ केयर कम्पनीले वीर लगायत केही ठूला अस्पताल आसपास रहेका मेडिकलहरूमा एक एक हजार ट्याब्लेट सिटामोल बिक्री गरेको थियो । केही समयपछि बजारमा सिटामोलको अवस्था बुझ्न भन्दै औषधी व्यवस्था विभागका निरीक्षकहरू तिनै मेडिकलहरूमा पुगेका थिए । त्यसपछि उनीहरूले बजारमा कतै कतै सिटामोलको अभाव भए पनि अस्पताल छेउका मेडिकलहरूमा सिटामोल पाइएको विवरण विभागमा दिएका थिए ।