पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले राजनीतिमा २ थरिका मान्छे हुने बताउँदै व्यवसायीहरू पनि क्रमश राजनीतिमा आउनुपर्ने बताएका छन् । उनले व्यवसायीले व्यवस्थापन राम्रो गर्न सक्ने भन्दै राजनीति तथा सामाजिक काममा समेत सफल हुन सक्ने उनको जिकिर थियो ।बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका पदाधिकारीसँगको भेटमा मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले आफूलाई लोभलालच केही पनि नभएको उल्लेख गर्दै बलबुताले भ्याएसम्म सक्ने जति जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको आवश्यकता भनेको व्यवसायीलाई कोभिडविरुद्धको खोप रहेको औंल्याए । उनले २/४ दिनभित्र खोप उपलब्ध गराउने वचन दिए । उनले आफू व्यवसाय पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गर्दै व्यवसायीका पिरमर्का नजिकबाट बुझेको प्रष्ट पारे ।भेटमा एसोसिएसन अध्यक्ष केशववहादुर खत्रीले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै अहिले कर्मचारी शिक्षक लगायत अन्य क्षेत्रका व्यक्तिहरूले खोप पाइरहेको अवस्थामा राज्यलाई प्रत्यक्ष कर तिरेर व्यवसाय गरेका व्यवसायीलाई सरकारले खोप उपलब्ध नगराएकोमा दुःख ब्यक्त गरे ।खत्रीले मन्त्री थापाबाट विगतमा पनि बुद्व बिशाल बजारका हरेक समस्यामा साथ र सयोग पाइरहेको स्मरण गर्दै आगामी दिनमा पनि मन्त्री थापाबाट एसोसिएसनले अभिभावकको रूपमा साथ र सयोग पाउने आशा व्यक्त गरे । सो अवसरमा मन्त्री थापाको कार्यकालको शुभकामनासहित एसोसिएसनले खादामालासहित बधाई ज्ञापन गरेको छ । एसोसिएसन अध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीमा एसोसिएसन महासचिव इन्द्रराज अर्याल, सचिव बुद्वि कुँवर, कोषाध्यक्ष राजु केसी, एसोसिएसनका प्रेस संयोजक मनोहरि पौडेलको सहभागिता थियो ।