Welcome to the complete news site

मन्त्री अधिकारीको जोड दक्ष जनशक्तिमा

0 19

पोखरा । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको बताएकी छन् । स्वास्थ्य तालिम केन्द्र्र, पोखराको अनुगमन तथा निरीक्षणक्रममा मन्त्री अधिकारीले दक्ष जनशक्ति भएन भने कार्यसम्पादनमा गुणस्तरीयता बिस्तार गर्न समस्या हुने बताइन् । अहिले प्रायः अस्पतालमा दक्ष जनशक्ति अभाव रहेको भन्दै मन्त्री अधिकारीले भौतिक संरचनाको विकाससँगै दक्षता अभिवृद्धिमा ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा निमित्त तालिम निर्देशक रमेश अधिकारीले पछिल्लो कोरोना भाइरस कारण तालिम सञ्चालनमा समस्या भएको बताए । गत आवमा २२ वटा तालिम सञ्चालन गर्न सकिएको उनले जानकारी दिए । अब तालिम प्रदायक निकायले भर्चुअल विधिबाट तालिम दिने संरचनाको विकास गर्न आवश्यक रहेको अधिकारीकोे भनाइ थियो । २०३४ सालमा स्थापना भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र २० रोपनी क्षेत्रफलमा अवस्थित छ । तालिम केन्द्रले हालसम्म स्थानीय तह, प्रदेश तथा संघ अन्तर्गतका तालिम सञ्चालन गर्दै आएको छ ।