Welcome to the complete news site

मनाङ बाढीपहिरो : तत्काल बाटो नखुले खाद्यसंकट, दर्जन पुल फेरि बनाउनुपर्ने

0 12

२५ साउन, पोखरा । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पुर्‍याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।

मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा हेरिएको लमजुङ बेंशीसहर-चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङसार जोड्ने सडकमा ठाउँ-ठाउँमा बाढी, पहिरोले क्षति पुर्‍याएको छ । ती क्षतविक्षत सडक तत्काल मर्मत गरेर खुलाउन नसकेमा केही समयमा नै मनाङले खाद्य संकट व्यहोर्ने एक अध्ययनले देखाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेकोे संयोजकत्वमा गठित समितिले असार २५ र २६ गते नासों गाउँपालिका र २९ गते डिस्याङ गाउँपालिकाका क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्ययन प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन गृह सचिवलाई समेत बुझाइसकिएको छ ।

स्थलगत निरीक्षणपछि तयार पारिएको उक्त प्रतिवेदनमा बाढी, पहिरोले जिल्लामा पुर्‍याएको क्षति र वर्तमान अवस्थाबारे खुलाइएको छ । प्रतिवेदनले जिल्लाका नासों, चामे र निस्याङ गाउँपालिकाका विभिन्न बस्ती, विद्यालय र सरकारी कार्यालयका भौतिक संरचनामा क्षति पुर्‍याएको उल्लेख छ ।

तालगाउँ ७० र चामे-बेंशीसहर सडकखण्ड ८० प्रतिशत क्षति

असार महीनाको पहिलो दिन नै मर्स्याङ्दी नदीमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति तालगाउँले व्यहोरेको छ । नासों गाउँपालिका १ मा पर्ने उक्त तालगाउँ बजारमा अहिले पनि मान्छे बस्न सक्ने स्थिति छैन ।

उक्त बस्तीमा बाढीले ७० प्रतिशतभन्दा बढी क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । बाढी, पहिरोको जोखिम नघटेकाले उक्त ठाउँमा पुनः बस्ती बसाल्न सकिने स्थिति नरहेकाले स्थानान्तरण नै गर्नुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।

‘बस्तीमा बाढी पसेर ७० प्रतिशतभन्दा बढी घरमा पूर्ण क्षति पुर्‍याएको पाइयो । बाँकी बचेका घरमा पनि उत्तिकै जोखिम छ,’ अनलाइनखबरसँग लामिछानेले भने, ‘बस्ती नै स्थानान्तरण गर्ने गरी छलफल चलिरहेको छ । तर, गृहमन्त्रालयको सुझाव पर्खिरहेका छौं ।’ उक्त बस्तीको वस्तुस्थितिबारे नेपाली सेनाले अध्ययन गरेर गएको उनले जानकारी दिए ।