पोखरा । नेकपा एमालेले पोखराको उपमेयरको उम्मेद्वारमा फेरिपनि मञ्जुदेवी गुरुङलाई नै खडा गरेको छ । मञ्जुदेवी वर्तमान उपमेयर हुन् ।
एमाले कास्कीले उपमेयरका लागि नौ जनाको नाम सिफारिस गरेको थियो । जसमा मञ्जुदेवीको नाम थिएन । तर पार्टीको केन्द्रीय समितिले सिफारिस भएका नौ जनाभन्दा बाहिरबाट उपमेयरको उम्मेद्वार तय गर्दै मञ्जुलाई जिम्मेवारी दिएको हो ।
एमाले कास्कीले पोखराको उपमेयरका लागि शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, बिनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुश्मा पौडेलको नाम सिफारिस गरेको थियो ।
एमाले कास्कीका एक सदस्यका अनुसार पोखराको मेयर र उपमेयर दुवै पदमा मञ्जुदेवीको चाहना थिएन । तर पनि पार्टीको केन्द्रीय समितिले आवश्यकता ठानेर मञ्जुलाई नै उम्मेदवार बनाएको हुन सक्ने उनले बताए । मञ्जुदेवीको चाहना नहुँदा-नहुँदै पनि उपमेयरको उम्मेद्वार बनाउनुलाई कतिपय नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसंग जोडेर हेर्न थालेका छन् ।
मञ्जुदेवी यसअघिको निर्वाचनमा ५६ हजार ४४८ मत पाएर उपमेयरमा विजयी भएकी थिइन् ।
को हुन् मञ्जुदेवी ?
२०१८ सालमा स्याङजाको सिरुवारी पञ्चमुलमा जन्मिएकी गुरुङ पोखरा-८ न्यूरोडकी स्थायी बासिन्दा हुन् । २०५० सालमा अखिल नेपाल महिला संघको सदस्यबाट उनको राजनीतिक यात्रा सुरु भएको हो । २०५५ मा पोखरा-८ बाट वडा कमिटी सदस्य बनिन् । २०६५ सालसम्म दुई कार्यकाल उनले वडा सदस्य भएर काम गरिन् ।
२०६१ म एमाले जिल्ला कमिटिको आर्थिक बिभाग सदस्य भईन् भने २०६६ मा क्षेत्र नम्बर ३ को सचिवालय सदस्य हुँदै २०७० मा जिल्ला कमिटिको बैकल्पिक सदस्य बनेकी हुन् । २०५१ म अनेमसंघ नगर समिति सल्लाहकार, २०५७ मा अनेमसंघ कै नगर सचिव, २०६४ मा जिल्ला कोषाध्यक्ष भईन् भने २०६९ देखि संघकै केन्द्रिय विदेश विभाग सदस्य भएर काम गरिरहेकी छिन् ।
उनी २०६६ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कास्कीको कोषाध्यक्ष बनिन् भने २०७२ देखि अखिल नेपाल महिला सघं कास्कीको अध्यक्षको रुपमा कार्यरत छिन् । उनी २०७१ म अन्तरपार्टी महिला सञ्जाल कास्कीको कोषाध्यक्ष हुँदै हाल सदस्यको रुपमा काम गरिरहेकी छिन् ।
गुरुङ पोखरामा रहेको अर्थर डाँडाखर्क कोने परिवार पोखराको उपसचिव, सोंपाल तमु समाज पोखराको जन सम्पर्क समिति सदस्य, गोर्खा कम्युनिटी गु्रप पोखराको आजिवन सदस्य, पन्चकोशी तमु समाज, पर्वत मिलन समाज, बौद्ध अर्घौं सदनको आजीवन सदस्य छिन् । गोर्खा भूपू महिला संघ गण्डकी अञ्चलको सदस्य बनिसकेकी गुरुङ शैक्षिक समाज सहकारी संस्थामा उपाध्यक्ष भएर काम गरिन् । उनी दि विज्डम कास्की इङलिस बोर्डिङ स्कुलको संस्थापक हुन् ।