Welcome to the complete news site

भालुपहाडमा बन्यो झोलुंगेपुल पर्यटकको रोजाइमा

0 17

स्याङ्जा । फेदीखोला गाउँपालिकातर्फको भालुपहाडमा निर्मित झोलुंगेपुल पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिँदै भालुपहाडस्थित सेतीखोलामाथि झोलुंगेपुल निर्माण गरेको हो । गाउँपालिकाको गुरुयोजना अनुरुप झोलुंगे पुल निर्माण गरिएको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । उनले भने, ‘पर्यटन प्रवद्र्धन र आयआर्जन बढाउने हाम्रो लक्ष्य हो ।’ गाउँपालिकाको वडा नं. २ को वडाचौर र ३ का पातीहाल्ना गाउँलाई झोलुंगेपुलले जोडेको छ । जसका कारण भालुपहाडको रमणीय स्थलको सौन्दर्यता बढ्नुका साथै पैदलघुमफिर गर्ने थलो बनेको छ । पर्यटकीय स्थल भालुपहाडमा रहेका ठूला २ पहाडलाई जोड्ने गरी निर्माण गरिएको पुलमा अहिले पनि दैनिक २ देखि ३ सय जनासम्म आउने गरेको स्थानीय माया थापाले जिटीले बताइन्। यहाँ आउनेमा अधिकांश पोखरा, आसपास र स्याङ्जाका छन् । कोरोना संक्रमणको त्रासका बीच पनि मानिसहरु आउने क्रम जारी छ । सानो समूहमा आउने र २/४ घन्टा यतै बिताउँछन्, फोटो खिच्दै रमाइलो गर्छन् । पुल हाम्रो गाउँलाई बजारसम्म जोडिएको छ । पर्यटकीय गन्तव्य बनेको छ ।’ कोरोनाको महामारी नहुँदो हो त यहाँ आन्तरिक एवं बाह्य पर्यटक धान्नै सकिँदैनथ्यो होला, उनले भनिन् । सिद्धार्थ राजमार्ग छेवैमा रहेको भालुपहाड जिल्लाकै रमणीय स्थल हो । महामारीमा पनि यहाँ आउने संख्या रोकिएको छैन । राजमार्ग भई हिँड्ने मानिसहरु पनि एकैछिन भए पनि रोकिएर, फोटो खिचेर र पहाडको अवलोकन गरेर आफनो गन्तव्यमा लाग्छन् । जिल्लावासी पनि पारिवारिक वा साथीहरुसँग मिलेर वनभोज अर्थात् २/४ घन्टाका लागि मनोरञ्जन लिन यतै आउने गर्छन् । त्यसो त, आन्तरिक पर्यटनका लागि उपयुक्त स्थल रहेको बताउँछन् । साइकल सिटी पोखराका सदस्य प्रताप बानिया साइक्लिङ यात्रा गर्दै पोखरादेखि यहाँ आइपुगेका उनी पुल तरेर यस भेगको अवलोकन गर्दे सो कुरा बताए ।
अजंगको पहाड । हेर्दा भालु निदाएझैं आकृति देखिएकाले यस पहाडको नाम भालु पहाड राखिएको भन्ने किंवदन्ती छ । काला र ठूला चट्टानी पहाड केही वर्षयता हरियाली बनेका छन् ।
झण्डैं ३ सय मिटर गहिराइमा रहेको सेतीखोलाले एउटा थुम्को जस्तो पहाडलाई घेरेर बगेको छ । त्यही थुम्को अहिले सबैको आकर्षण बनेको छ । जहाँ बसेर प्राकृतिक वातावरणमा रमाउँदै वरपरको दृश्यावलोकन गर्दा रोमाञ्चित बनाउँछ । पुलसँगै पैदल मार्ग र साइक्लिङ मार्ग निर्माणका काम जारी छन् । १ वर्षअघि निर्माण सुरु गरेको झोलुगे पुल २ सय २१ मिटर लम्बाइको छ । करिब १ करोड ३८ लाख ५८ हजार १ सय ५० रुपैयाँको लागतमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा निर्माण गरिएको इन्जिनियर तारा पौडेलको भनाइ छ । पुल बनेसंगै यहाँको चहल पहल बढेको छ । स्थानीयबासीले होम स्टेदेखि रेस्टुरेन्ट सञ्चालनसम्बन्धी योजना बनाएको स्थानीयबासीको भनाइ छ ।