फेवाको सिल्टेसन ड्याम डिजाइन गर्ने इन्जिनियरलाई महानगरले सोध्यो ध्यानाकर्षण
पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याममा क्षति पुगेको क्षतिप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले ४ वटा खोलामा निर्माण गरिएका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको ड्याममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएका हुन् । ‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइन विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘डिजाइन के, कुन आधारमा गरिएको हो, डिजाइनमा भएको त्रुटिका कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई यस कार्यालयतर्फबाट स्पष्टीकरण सोधिएको छ ।’ उक्त ड्याममा अघिल्लो वर्षात्मा भएको क्षति पश्चात गरिएको मर्मत सम्भारको विषयमा प्रश्न उठाइ उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मत सम्भार गर्न पत्राचार गरिएको भन्दै विज्ञप्तिमा डिजाइनकर्ता तथा निर्माण व्यवसायीतर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको उल्लेख गरिएको छ ।