पोखरा । संक्रामक रोग तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचन केही दिन अघिसम्म केही फुर्सदमा थिए । कोरोनाका संक्रमितको व्यवस्थापन छाडेर अन्य काम लाग्न भ्याएका थिए । तर पछिल्ला दिनमा उनको व्यस्तता बढेको छ, संक्रमितपछि उपचारार्थ आएका बिरामीलाई बेड मिलाउन । नेपालमा कोरोनाको दोस्रो भेरियन्ट सुरुसँगै उनलाई फोन उठाउन भ्याइनभ्याई हुन्थ्यो । संक्रमितले अस्पताल भरिभराउ हुँदा उनलाई बेड मिलाउन सकस थियो । सरकारले लकडाउन गरेसँगै बेड भरिभराउ थियो । संक्रमित संख्या घट्न थालेपछि असार पहिलो साता भने केही सहज हुँदै गयो । त्यसबेला एक साता अवधिमा गण्डकीमा निको हुने ३ हजार ९ सय ६८ हुँदा २ हजार ४४ संक्रमित थिए । त्यत्ति नै खेर अस्पतालमा भर्ना भएका करिब ३० जनाको उपचार हुँदै आएको थियो । संक्रमित संख्या उच्च रहेको बेला अस्पतालमा बेड क्षमता ५० भए पनि ५६ जनासम्म राखेर उपचार गरेको डा. गौचनले बताए । केही घटेजस्तो भइ निषेधाज्ञा समेत खुकुलो हुँदै जाँदा अचेल कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ । त्यसैले डा. गौचन फेरि व्यस्त हुन थालेका छन् । दैनिकजसो संक्रमितको फोन आउने गरेको उनले बताए । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अहिले ४४ जना बिरामी पुगेका छन् । ‘केही दिन अगाडिसम्म ३० जना थिए,’ उनले भने, ‘केही दिन भयो बढ्न थालेको छ । हाम्रोमा अहिले पनि ४४ जना उपचार गराइरहेका छन् ।’ लकडाउन खुकुलो बनाइनु र स्वास्थ्यका मापदण्ड पूरा नगर्दा संक्रमित बढेको हुन सक्ने उनको भनाइ छ । सरकारको निर्णय अनुसार निजी अस्पतालले भर्ना नलिएकाले सरकारी अस्पतालमा संक्रमितको भीड बढेको उनको धारणा छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार असार १४ देखि २१ सम्म एक साताको तथ्यांक अनुसार २ हजार १ संक्रमित भएका थिए । पछिल्लो साता बढेर २ हजार ५ सय १ जनामा पोजेटिभ देखिएको छ । आइतबार गोरखा र स्याङ्जामा गरी ५ जनामा कोरोना कोरोनाको डेल्टा भेरियन्ट पनि देखा परेको छ । निर्देशनालयका अनुसार स्याङ्जामा २ र गोरखामा ३ जनामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ संक्रमण फेला परेको हो । पोखराबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ मा काठमाडौं पठाएका ५ वटा नमुनामा नयाँ भेरियन्ट फेला परेको हो । कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ । गण्डकी प्रदेशको ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि पछिल्ला दिन कोभिडका बिरामीको संख्या बढ्न थालेका छन् । केही दिनयता छिमेकी जिल्लाबाट बिरामी आउन थालेसँगै संक्रमितको चाप बढ्न थालेको अस्पतालका कोरोना फोकलपर्सन डा. शरदचन्द्र बरालले जानकारी दिए । अस्पतालमा अघिल्लो साता संक्रमित संख्या घटेकोमा अहिले ह्वात्तै बढेको उनले बताए । ‘२ हप्ता जति केही मात्रामा बेड पनि खाली भएको थियो,’ उनले भने, ‘केही दिन भयो छिमेकी जिल्लाबाट पनि आउन थालेका छन्, अहिले ७० जना उपचार गरिरहेका छन् ।’ यही अनुपातमा बढ्ने हो भने स्थिति भयावह हुने डा. बरालले जानकारी दिए । उनले नेपालमा देखा परेको तेस्रो भेरियन्ट झनै शक्तिशाली हुने भएकोले सचेतना जरुरी रहेको सुझाउँछन् । उनका अनुसार अस्पतालमा अक्सिजन सिलिन्डर खपत पनि ३ सयको हाराहारीमा हुनेको गरेको छ । २ हप्ता अघिसम्म १ सय ५० सिलिन्डर खपत हुने गरेकोमा कोरोना संख्या बढ्दा दैनिक ३ सयभन्दा बढी खपत हुने अवस्था थियो । यता, पोखरा अक्सिजन ग्यास प्रालिका अध्यक्ष दीपक भण्डारी ग्यास खपत भने सामान्य रुपमा बढेको बताउँछन् । ‘पहिलाभन्दा अहिले धेरै सहज भएको छ,’ भण्डारीले भने, ‘पहिला दैनिक ८ सय ५० सम्म सिलिन्डर जान्थ्योे, बीचमा ४ सयको हाराहारीमा जान्छ तर पछिल्ला दिनमा केही संख्यामा बढेको छ ।’ कोरोनाको तेस्रो भेरियन्ट डेल्टा देखिसकेको अवस्थामा भयावहको स्थिति पहिलाकै अवस्था आउन सक्ने भन्दै त्यसअनुरुप तयारी गरिरहेको उनको भनाइ छ ।
गण्डकीमा ३४४ संक्रमित
गण्डकीमा थप ३ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार २ सय ४४ जना संक्रमित भएकोमा मंलबार बढेको हो । योसँगै प्रदेशमा सक्रिय कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ३१ पुगेको छ ।
प्रदेशमा १ हजार १ सय ३१ जनाको नमुना परीक्षण गरिएकोमा ३०.४१ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । कास्कीका १ सय ४९ सहित म्याग्दीका ३, पर्वतका १७, गोरखाका ३०, लमजुङका २० र तनहुँका ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी बागलुङका ५१, स्याङ्जाका १२ र नवलपुरका १९ जना संक्रमित भएका हुन् । मनाङ र मुस्ताङका शून्य संक्रमितसहित प्रदेशका ९ जिल्लामा १ सय ७७ पुरुष तथा १ सय ६७ जना महिलामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ४ सय ४८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५६ हजार १ सय ४६ पुगेको छ ।
देशभर १ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५८ पिसिआर परीक्षणमा १ हजार ६ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित संख्या ६ लाख ५८ हजार ७ सय ७८ पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा २ हजार ७८ जना कोरोनाामुक्त भएका छन् । योसँगै निको हुनेको कुल संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ ।
गण्डकीमा ६ को मृत्यु
गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नवलपुर, तनहुँ, बागलुङ, लमजुङ, स्याङ्जा र म्याग्दीका १/१ जनाको कोरोनाबाट ज्यान गएको हो ।
नवलपुर देवचुली १ की ७५ वर्षीया महिलाको कलेज अफ मेडिकल साइन्स, चितवनमा मृत्यु भएको छ । तनहुँ शुक्लागण्डकी १२ का ७९ वर्षीय पुरूष र बागलुङको काठेखोला २ का ५५ वर्षीय पुरूष, म्याग्दीको मंगला ३ की ९० वर्षीया महिला र लमजुङको राइनास नगरपालिका ८ का ७१ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार ८ का ५१ वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा ज्यान गएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ । देशभर थप १२ जनासँगै कुल ९ हजार ४ सय १२ जनाको ज्यान गएको छ ।