प्राथमिकताका साथ खोप अभियान सञ्चालन गर्न स्वास्थ्यमन्त्रीलाई राष्ट्रपतिको आग्रह
आषाढ ०७, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड(१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । राष्ट्रपतिले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर कोभिड सङ्क्रमण र खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिनुभएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले कोभिड सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले आगामी दिनमा कोभिड १९ को सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्न, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिनुभयो । रासस