प्रदेश लोक सेवा आयोग पूर्ण
पोखरा । गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त योगेन्द्र गौचनले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई सपथ ग्रहण गराएका हुन् । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो । गण्डकी प्रदेश सरकारले साउन १५ मा बागलुङको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोक सेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो । गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोक सेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भइसकेकी छन् ।