पोखरा रंगशालामा शुक्रबारदेखि आंशिक रुपमा खेलकुदका गतिविधि हुने भएका छन् । कोरोना महामारीका कारण ३ महिनादेखि स्थगित खेल गतिविधि आंशिक रुपमा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले आफूहरुको आग्रह बमोजिम प्रशासनले कोभिडविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रशिक्षण लगायतका गतिविधि सञ्चालनको लागि अनुमति दिएको बताए । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडी तथा आसन्न नवौं राष्ट्रिय खेलकुदमा छनोट हुने खेलाडीको प्रशिक्षणलाई ध्यानमा राखी रंगशाला शुक्रबारदेखि खुला हुने भएको हो ।’समितिको पहलमा राखेप, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगर खेलकुद विकास समितिको संयुक्त बैठकले प्रशिक्षण सुचारु गर्न प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोही बमोजिम डेलिगेसन टोलीलाई प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई प्रशिक्षणका लागि अनुमति दिएका समिति अध्यक्ष बानियाँले बताए । अनुमति अनुसार खेलाडीले रंगशाला छिर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ । उनीहरु तोकिएको खेल स्थलमा बिहान बेलुका सिफ्ट अनुसार ६ देखि १२ जनाको दरले मात्र प्रशिक्षणमा भाग लिन सक्ने छन् । एउटा टोली फर्केपछि तोकिएका विभिन्न प्रशिक्षण स्थलबाट अर्को टोली प्रवेश गर्नेछ । पोखरा रंगशाला प्रवेश गरेपछि खेलाडीहरु आफ्नो प्रशिक्षणस्थल बाहेक अन्य स्थानमा घुमफिर भने गर्न नपाउने नियम छ । प्रशिक्षणका लागि आउने खेलाडीको नाम सम्बन्धित खेल संघलाई जिल्ला खेलकुद विकास समितिमा उपलव्ध गराउन अध्यक्ष बानियाँले आग्रह गरेका छन् । जिल्लामा कोभिड–१९ संक्रमण कमी नआएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले आगामी साउन ५ सम्म जिल्लामा निषेधाज्ञा कायम राखेको छ । जसमा खेलकुद गतिविधि लगायत पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, डान्सबार लगायत बन्द छन् । हालैमात्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामै स्वास्थ्य सुरक्षा अपनाएर सेमि भर्चुअलरुपमा पोखरा स्पोर्टस् अवार्ड गरेको थियो ।