पोखरा । नेपालमा २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकीमा हुने तय भएको २ वर्षभन्दा बढी भयो । नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापनको दिन २०७७ फागुन २१ देखि २८ सम्म नवौं बृहद राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने तय भएको थियो । तर खेल गतिविधि र नियमित कार्यक्रमहरू कोरोनाकै कारण नहुँदा समयमै हुने भनिएको प्रतियोगिता भएन । २०३८ सालदेखि सुरु भएको बृहत खेलकुदका ८ संस्करणमात्र आयोजना हुनुमा विभिन्न समस्या थिए । पूर्वाधारमा कमजोरी, सामाजिक/राजनीतिक अवस्था र द्वन्द्वलाई कारक मानिँदै आएको थियो । हरेक २ वर्षमा हुनुपर्ने बृहत खेलकुद केशवकुमार विष्ट राखेप सदस्य–सचिव हुँदा २०७३ मा सातौं र २०७५ बृहद् खेलकुद आयोजना गरेर नियमित आयोजनाको सकारात्मक सन्देश दिएका थिए । वर्तमान सदस्य सचिव रमेशकुमार सिलवालको पालमा पनि समयमै गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद कोरोनाकै कारण पछाडि धकेलिएको छ । नेपालमा खेलकुदको वार्षिक क्यालेन्डरमा कोरोनाकै कारण असर पुगिरहेको छ । देशव्यापी भएको लकडाउनका कारण चैतदेखि प्रशिक्षणलगायत खेल गतिविधि ठप्प छ । बीचमा केही खेल गतिविधि सलबलाए पनि कोरोनाको दोस्रो भेरियन्ट पछि उही अवस्थामा पुगको छ । जसले आसन्न नवौं राष्ट्रिय खेलकुद पनि निर्धारित मितिमा हुने सम्भावना टर्दै गएको छ ।
प्रतियोगिताअघि छनोट प्रतियोगितालाई ३ महिनाको समय लाग्ने भएकाले समस्या परेको हो । राखेप कोरोना संक्रमणदर कम नभएसम्म प्रतियोगिता गर्नुको अर्थ नहुने निष्कर्षमा पुगेको छ । यद्यपि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं संस्करण आयोजना गर्न नसक्ने भने भनेको छैन । प्रतियोगितामा दर्शकको सहभागितालाई पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यसैले महामारीको जोखिम कम भएको अवस्थामा पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रतिस्पर्धा आयोजना गर्न सकिए पनि दर्शकको सहभागिता सम्भव देखिँदैन । त्यसैले पनि राखेपले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुदको सम्भावना अझ पछाडि धकेलिने निश्चित छ । राखेपले गण्डकी प्रदेशका सबै जिल्लामा बृहद राष्ट्रिय खेलकुदअन्तर्गतका खेल आयोजना गर्ने योजना बनाएको छ । जसमध्ये अधिकांश खेलहरू पोखरा महानगरभित्रै हुनेछन् । गण्डकीमा पौडी र सुटिङ खेलका लागि पूर्वाधार छैन । प्रतियोगितको टुंगो नभए पनि राखेपले प्रतियोगितालाई पनि हुने गरी विभिन्न योजनामा पोखरा रंगशालामा १५ करोड रुपैयाँ रातो किताबै समावेश गरेको छ । पोखरा रंगशालाभित्र हिटिङ स्विमिङ पुल निर्माणका लागि ६ करोड, सुटिङका लागि २ करोड, क्रिकेट स्टेडियमका लागि १ करोड, फुटबल मैदानमा फ्लड लाइट राख्न ५ करोड र ओभरहेड टंंकीका लागि १ करोड रातो किताबमै समावेश गरिएको राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले जानकारी दिए । ‘राखेपको रातो किताबमा १५ करोड पोखरा रंगशालाका लागि छुट्याइएको छ,’ उनले भने, ‘अब केही समयमा नै टेन्डर प्रक्रियमा गएर संरचना निर्माणको काम थालिनेछ ।’ पोखरा रंगशालामा नभएको पौडी र सुटिङको पूर्वाधार छिट्टै सक्नुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डको रंगशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष ५ करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने बोर्ड सदस्य गुरुङले जानकारी दिए । १ अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रंगशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । ‘यहाँ सबैले फ्लड लाइटको विषय उठान गर्नुभएको थियो,’ उनले भने, ‘अब बजेट परिसकेको छ, राति पनि खेलाउन मिल्ने गरी काम अगाडि बढ्छ ।’ रंगशालाको चारै कुनामा बत्ती राखिनेछ । जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताए । साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले दु्रतगतिमा काम हुनुपर्ने अध्यक्ष गुरुङ बताउँछन् । हिटिङ स्विमिङ पुल बनेपछि जाडोमा पनि पौडीका प्रतियोगिता सहजै गर्न सकिने बोर्ड सदस्य गुरुङले जानकारी दिए । ‘पौडी खेलमात्र होइन, पौडीका प्रतियोगिता नहुँदा अन्य खेलका खेलाडीले रिफ्रेसमेन्ट गरुन् भन्ने उद्देश्यसहित पौडी पोखरी बनाउँदै छौं,’ उनले भने । सुटिङका लागि आवश्यक तयारी पनि यसै वर्ष सक्ने उनले जनाए । १ करोडको लगानीमा ओभरहेड टंंकी बनाएपछि पानीको समस्या नपर्ने गुरुङ बताउँछन् । खेलिसकेपछि नुहाउनका लागि खेलाडीलाई समस्या परेका कारण ओभरहेड टंकी बनाउन लागिएको हो । यसबाहेक नवलपुरमा अन्तर्राष्ट्रिय खेलकुद मैदान बनाउन राखेप लागेको उनले बताए । ‘नवलपुरको गैंडाकोटमा ४ सय ३६ विघा जग्गा रहेछ, हामीले हेरेर आयौं,’ गुरुङले भने, ‘त्यसमध्ये १ सय ३५ बिघा प्रयोग गर्न मिल्ने खालको छ ।’ राखेपले त्यहाँ सबै किसिमको खेल मैदान तयार गर्ने योजना बनाएको छ । यसबाहेक राखेपको रातो किताबमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मर्मत तथा निर्माण शीर्षकमा ५० लाख विनियोजन गरेको छ । यो ५० लाख प्रदेशका ११ वटै जिल्लामा आवश्यकताका आधारमा दिइनेछ । यसैगरी मनाङ, मुस्ताङ र पर्वतमा कभर्डहलका लागि १०/१० लाख, स्याङ्जामा खेल पूर्वाधारका लागि पनि १० लाख नै छुट्याएको छ । कावासोती रंगशाला र गोखरा रंगशालाका लागि पनि १०–१० लाख परेको छ । राइनास लमजुङका लागि १५ लाख र चिन्टुटार तनहुँ र रत्नेचौर म्याग्दीका लागि पनि समान १०/१० लाख दिने भएको छ ।
Prev Post