पोखरा । गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाको स्तरोन्नतिका लागि नेपाल सरकारसंग साझेदारी गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।
उनले प्रदेशमा खेलकुद पूर्वाधारको निर्माणमा जोड दिँदै पोखरा रंगशाला, कर्भड हल, प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरि संघिय सरकारसंगको साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नत्ती गर्ने व्यवस्था मिलाएको बताए । उनले त्यसको लागि कति रकम छुट्याएको हो त्यो भने खुलाएनन् ।
यस्तै उनले प्रदेशमा खेलकुद पूर्वाधार विकासका लागि १५ करोड विनियोजन गरेको बताए । साथै उनले प्रदेशभित्रका खेलमैदानको निर्माण, मर्मत तथा स्तरोन्नति गर्न ,एक स्थानिय तह एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिएको घोषणा गरे ।
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेटको व्यवस्था गरेको उनले बताए । उनले सो प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीका लागि प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरेको पनि बताए । साथै प्रतियोगितामा भाग लिने खेलाडीहरुको विमा गर्ने व्यवस्था समेत मिलाएको उनले उल्लेख गरेका छन् ।
यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा साहसिक खेलको प्रर्वद्धन एवम् प्रतियोगिताको आयोजना गर्दैै खेल पर्यटनको प्रर्वद्धन गर्ने , प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटन आकर्षित गर्ने कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको उनले बताएका छन् ।
मन्त्री बरालले ‘उद्यमी युवा : समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यकम्रलाई निरन्तरता दिएको जनाएका छन् । यसका लागि युवा उद्यमसंगको लगानी साझेदारीमा युवामा सीप, क्षमता र नेतृत्व विकास गर्ने कार्यक्रम सञ्चालनका लागि २ करोड ५० लाख विनियोजन गरेको घोषणा गरे ।