पोखरामा १०२ प्रजातिका जलपंक्षी
पोखरा ।
पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालबाट सुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना बुधबारसम्म जारी रहनेछ ।
प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ, संस्थाको सहभागिता हुने गर्छ । सिमसारमा आश्रित पानीचराको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपंक्षीको अनुगमन र गणना गर्ने गरिन्छ ।
यस वर्ष पनि पुस १७ देखि माघ ५सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भिœयाउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा सुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केही पथ प्रर्दशकहरु, नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नतामा रहँदै आएको छ ।
पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपंछी गरिने टाइगर माउन्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए । यस वर्ष टाइगर माउन्टेन पोखरा लज, पोखरा पंछी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पंक्षी संरक्षण संघपोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए । हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभर गरिने अध्ययनमा १ सय २ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।