पोखरामा यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ
रेष्टुरेण्टमा सहयोगीका रुपमा काममा राखेर महिलाहरूलाई जबरजस्ती यौनजन्य पेशामा लगाएको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । आर्थिक लाभका लागि खाजा, नास्ता बनाउन सहयोग गर्ने र ग्राहकको घरमा पु-याउने काममा लगाइ दिने भनेर राखिएकी महिलालाई यौन शोषणमा लगाएको आरोपमा शान्तिनगरस्थित ए वान रेस्टुरेन्ट सञ्चालक अस्मिता राई पक्राउ परेकी हुन् । इलाम माई नगरपालिका –८ चिसापानी स्थायी घर भई हाल पोखरा शान्तिनगरमा ब्यवसाय संचालन गर्दै आएकी राईलाई पक्राउ गरी मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ३ दिनको म्याद थपको अनुमति लिइ कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । पीडित महिलाहरूलाई मनोपरामर्श दिएर परिवारको जिम्मामा छाडिएको डीएसपी हमालले बताए ।